नीति तथा कार्यक्रमले लगानीकर्तामा छाएन उत्साह, शेयर बजारमा भारी गिरावट

२९ बैशाख २०८३, मंगलवार १५:०५

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्टै शेयर बजारमा उच्च गिरावट देखिएको छ। हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर लगानीकर्ताले अपेक्षा गरेअनुसार पूँजी बजारलाई उत्साहित बनाउने स्पष्ट कार्यक्रम नदेखिएपछि नेप्सेमा पहिरो गएको हो।

लगानीकर्ताहरूले नीति तथा कार्यक्रममा पूँजी बजार सुधार, लगानी विस्तार, कर नीतिमा सहजीकरण तथा वित्तीय क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने ठोस कार्यक्रमको अपेक्षा गरे पनि प्रस्तुत कार्यक्रममा त्यस्ता विषय पर्याप्त रूपमा नसमेटिएको कारण लगानीकर्ता उत्साहित नहुँदा शेयर बजार घटेको छ।

हिजो ३८ अंकले बढेको नेप्से परिसूचक आज मंगलबार ३९.४४ अंकले घटेर २७४४.४० को विन्दुमा कायम भएको छ। आज जम्मा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार घट्दा आज १३ मध्ये १२ उपसूचक राताम्मे बनेको छ भने म्युचुअल फण्ड मात्रै ०.१९ प्रतिशतले वृद्धि भएको छ।

यस दिन फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १२.४० प्रतिशतले घटेको छ। कुमारी धनवृद्धि योजनाको ८.२९ प्रतिशत, झापा इनर्जीको ६.८९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.११ प्रतिशत र होटल फरेष्ट इनको ६.१० प्रतिशतले शेयरमूल्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*