सरकारी साक्षीले बयान फेरेपछि ५० लाख बिगोसहित मुद्दा दायर

२९ बैशाख २०८३, मंगलवार १६:०९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएकी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विशेष अदालतमा विचाराधीन रहेको नेपाल सरकार वादी र चन्द्र बहादुर अधिकारीसमेत प्रतिवादी रहेको मुद्दामा सुमित्रा कुमारी घिमिरे पुडासैनीलाई अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायमा पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो।

तर उनले अदालतमा दिएको बकपत्र आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयान र आरोप मागदाबीभन्दा विपरीत देखिएको छ। गत वैशाख ९ गते विशेष अदालत काठमाडौंमा बकपत्र गर्ने क्रममा उनले पहिले दिएको बयानभन्दा फरक कुरा बोलेको आयोगको निष्कर्ष छ।

अनुसन्धानका क्रममा प्रतिवादी चन्द्र बहादुर अधिकारीले लिएको ५० लाख रुपैयाँ घुस रकमको चेक सुमित्रा कस्मेटिक एण्ड फेन्सीको नाममा काटिएको खुलेको थियो। उक्त कस्मेटिक व्यवसाय सुमित्रा कुमारी घिमिरे पुडासैनीले सञ्चालन गर्दै आएकी थिइन्। आयोगका अनुसार उनले चेक प्राप्त गरेपछि रकम सटही गर्न बैंकमा पुगेकी थिइन्। तर चेक सटही नभएपछि पुनः फिर्ता गरिएको थियो।

उक्त कार्य घुस/रिसवत लिने कार्यमा सहयोग गरिएको भए पनि अनुसन्धानमा सहयोग गरेकोले यसअघि उनीमाथि मुद्दा चलाइएको थिएन। तर अहिले सोही मुद्दामा अदालतमा प्रतिकुल बकपत्र गरेपछि उनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिबाना र कानुनअनुसार कैद सजायको माग गर्दै मुद्दा चलाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*