नेशनल लाइफको जीवन बीमा कोष खर्ब नाघ्यो, मुनाफा ४१ करोड माथि

३० बैशाख २०८३, बुधबार ०६:३३

काठमाडौं । जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष खर्ब नाघेको छ । नेशनल लाइफको इतिहासमा पहिलो पटक एक खर्ब ५१ करोड ३७ लाख चार हजार ४६० रुपैयाँको शक्तिशाली जीवन बीमा कोष बनाउन सफल भएको हो । अघिल्लो बर्ष कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब रुपैयाँ संचिती रहेको थियो ।

योसँगै नेशनल लाइफ खर्ब क्लवमा प्रवेश गर्ने तेस्रो कम्पनी बन्न सफल भएको छ । यसअघि नेपाल लाइफ र एआईसी नेपालले जीवन बीमा कोष खर्बमाथि पुर्याइसकेका छन् ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा सामान्य अंकले बढेर ४१ करोड ६६ लाख पुगेको छ । अघिल्लो बर्ष ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवमा सामान्य बृद्धि गर्न सफल भएको छ ।

समीक्षा अवधीमा कम्पनीको खुद आय २१ अर्ब १२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो आय १९ अर्ब रहेको थियो । त्यस्तै कम्पनीले समीक्षा अवधीमा २० अर्ब रुपैयाँ खर्च गरेको छ । जुन गत आवको तुलनामा केही बढी हो । गत आवमा कम्पनीले १८ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको थियो ।

कम्पनीले लगानीबाट प्राप्त आयमा सामान्य संकुचन आई चार अर्ब ३३ करोडबाट झरेर चार अर्ब २२ अर्बमा सीमित हुन पुगेको छ । यद्यपि बीमा पोलिसी होल्डरबाट प्राप्त आय ८५ करोडबाट बढेर ९२ करोड पुगेको छ ।

कम्पनीले चालु आवको नौ महिनामा १६ अर्ब बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा यस्तो आम्दानी १४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो ।
कम्पनी प्रतिशेयर आम्दानी ९.९५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३०.३९ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको मूल्य १९९२.८६ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*