सुर्खेतमा सटर र जग्गा भाडाबाट उठेको रकममा ३ करोड भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा सटर तथा जग्गा भाडाबाट उठेको राजस्व रकम हिनामिना गरिएको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार समितिको कार्यालयमा आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म सटर कवल तथा जग्गा भाडाबाट कुल ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँ आम्दानी भएको थियो। तर उक्त रकममध्ये १ करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्रै बैंक खातामा जम्मा गरिएको र बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंक दाखिला नगरी हिनामिना गरिएको अनुसन्धानबाट खुलेको हो।
अनुसन्धानका क्रममा तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी र गेहेन्द्र बहादुर डाँगी, तत्कालीन लेखा अधिकृत हरि बहादुर क्षेत्री तथा सह–लेखापाल खड्क बहादुर रानाले मिलेमतोमा रकम हिनामिना गरेको खुलेको छ। अख्तियारका अनुसार हिनामिना गरिएको रकम लुकाउन प्रतिवादीहरूले बैंकमा रकम दाखिला भएको देखिने गरी गलत आय–व्यय विवरण तयार पारेका थिए। त्यसलाई समितिको बैठकमा पेश गरेर अनुमोदनसमेत गराइएको आरोपपत्रमा उल्लेख छ।
मुद्दामा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ बिगो कायम गरिएको छ। यस्तै नरहरी तिवारीविरुद्ध १ करोड ४ लाख ७१ हजार ९४२ रुपैयाँ र गेहेन्द्र बहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो माग गरिएको छ।
त्यसैगरी तत्कालीन सह–लेखापाल खड्क बहादुर रानाविरुद्ध सबैभन्दा बढी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बिगो कायम गर्दै कैद र दोब्बर जरिवानाको मागदाबी गरिएको छ। तत्कालीन लेखा अधिकृत हरि बहादुर क्षत्रीको भने मृत्यु भइसकेकोले उनकी श्रीमती सिमा कुमारी चन्द (क्षेत्री) बाट २ करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ असुलउपर गर्न माग गरिएको छ।












