नक्कली गहना धितो राखेर ठगी गर्ने तीनजना पक्राउ

३१ बैशाख २०८३, बिहीबार १३:३१

काठमाडौं । नक्कली गहना धितो राखेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको एक सुन पसलेलाई नक्कली गहना धितो राखी रकम ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका–१ घर भएका ३८ वर्षीय कालीदास घतानी र भक्तपुर नगरपलिका–८ बस्ने झापा अर्जुनधारा नगरपालिका–३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार आरोपीहरूले ललितपुरका एक सुनचाँदी व्यवसायीलाई आमा बिरामी भएको र उपचारको लागि रकम आवश्यक परेको बाहाना पारी नक्कली सुन धितो राखेर ५ लाख रुपैयाँ ऋण लिएका थिए। उनीहरूले नक्कली सुनको नक्कली बिल बिजक समेत बनाएर पसलेलाई विश्वास दिलाई ठगी गरेको खुलेको छ।

सुनको लेप लगाएको नक्कली सुन धितो स्वरूप राखेर पसलेबाट ५ लाख ऋण लिई फरार भएको र धितोको सुन नक्कली रहेको खुल्न आएपछि पसलेले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*