यशोदा फुड्सका ‘करेन्ट’ र ‘लाली’ चाउचाउ गुणस्तरहीन रहेको पुष्टि, स्वास्थ्यमा गम्भीर जोखिमको खतरा

काठमाडौं । बजारमा बिक्री भइरहेका केही चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू स्वास्थ्यका लागि हानिकारक र गुणस्तरहीन भेटिएपछि व्यापक चर्चा र चर्को विरोध भइरहेका बेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती उत्पादनहरू तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा केही खाद्य वस्तुमा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको अनिवार्य मापदण्डभन्दा बढी रहेको पाइएको जनाएको छ । यस्तो अवस्था देखिएपछि ती उत्पादनहरू उपभोक्ताको स्वास्थ्यका लागि जोखिमपूर्ण हुने निष्कर्ष निकालिएको हो ।
विभागका अनुसार यशोदा फुड्स प्रालि, तिलोत्तमा रुपन्देहीद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउ (ब्याच नम्बर ०४ ए) मापदण्ड विपरीत पाइएको छ । सोही उद्योगको ५० ग्रामको ‘लाली’ चाउचाउ (ब्याच नम्बर ०२ ए) पनि गुणस्तरहीन देखिएको विभागले जनाएको छ ।
त्यस्तै, एशियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि, दुहबी सुनसरीद्वारा उत्पादित ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुट (ब्याच नम्बर ६) मा पनि तोकिएको गुणस्तर मापदण्ड पूरा नभएको पुष्टि भएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम विभागले सम्बन्धित कम्पनीहरूलाई ती ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।
साथै, सोही ऐनको उपदफा (४) अनुसार ती उत्पादनहरूको बिक्री–वितरण रोक्का गर्न र अर्को सूचना जारी नभएसम्म बिक्री नगर्न नगराउन समेत आदेश दिइएको विभागले जनाएको छ ।













