रिलायबल समृद्धि योजना–२ को इकाई बिक्री अवधि लम्बियो

१ जेष्ठ २०८३, शुक्रबार ०६:५६

काठमाडौं । रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ बन्दमुखी योजनाको इकाई बिक्री अवधि थप गरिएको छ। मागअनुसार आवेदन नपरेपछि योजना व्यवस्थापकले सार्वजनिक निष्काशन तथा बिक्री अवधि जेठ १२ गतेसम्म लम्ब्याएको हो।

यसअघि योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाईमध्ये सर्वसाधारणका लागि छुट्याइएको न्यूनतम ८ करोड ५० लाख इकाई वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म बिक्री खुला गरिएको थियो। तर तोकिएअनुसार आवेदन नपरेकाले अब ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि सो अवधिभन्दा अगावै मागबमोजिम आवेदन परेमा निष्काशन बन्द गरिने पनि सूचनामा उल्लेख छ।

योजनाको बीज पूँजीअन्तर्गत कुल इकाईको १५ प्रतिशत सुरक्षित गरिएको छ। त्यसमध्ये कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई १ करोड ४० लाख इकाई तथा योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई १० लाख इकाई छुट्याइएको छ।

यस योजनामा लगानी गर्न इच्छुक आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। रिलायबल समृद्धि योजना–२ बन्दमुखी प्रकृतिको सामूहिक लगानी योजना हो। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम पनि रिलायबल क्यापिटलले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*