अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न सरकारी कार्यालयहरूमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार एक परिपत्र जारी गर्दै अत्यावश्यक अवस्थाबाहेक नयाँ फर्निचर, उपकरण तथा सवारी साधन खरिद नगर्न सबै मन्त्रालय, आयोग, विभाग, सचिवालय, प्रदेश सरकार तथा मातहतका निकायलाई आग्रह गरेको हो।
सुशासन, भ्रष्टाचार नियन्त्रण कर्मचारी तथा पृष्ठपोषण शाखामार्फत जारी परिपत्रमा कार्यालय प्रमुख नियुक्ति, पदस्थापन वा सरुवासँगै प्रयोगमा रहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्री प्रयोग नगरी नयाँ खरिद गर्ने प्रवृत्तिबारे व्यापक गुनासो आएको उल्लेख गरिएको छ।
परिपत्रमा सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिने यन्त्र, उपकरण तथा सवारी साधनलाई समेत मर्मत नगरी नयाँ खरिद गर्ने तथा मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अतिरिक्त भार पार्ने काम भइरहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराइएको छ।
प्रधानमन्त्री कार्यालयले सरकारी निकायहरूलाई कार्यालयमा मौज्दात रहेका सामग्री, औजार, उपकरण, फर्निचर तथा सवारी साधनलाई चालु अवस्थामा राखेर अधिकतम उपयोग गर्न र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन दिएको छ। शाखा अधिकृत सूर्यबहादुर वस्नेतद्वारा हस्ताक्षरित उक्त परिपत्र सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।












