बीमा प्राधिकरण ५८ औं वर्षमा, अझै प्रभावकारी नियमन अबको दायित्व

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं वर्षमा प्रवेश गरेको छ । ५८ औं वार्षिकोत्सव प्राधिकरणले विविध कार्यक्रम गरी गत सातादेखि नै मनाउँदै आएको छ । सरकारले खर्च कटौति गर्ने अभियान चलाएकोले यस बर्ष प्राधिकरणले वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम गर्नेछैन । साँझ अनौपचारिक चियापान कार्यक्रम मात्रै आयोजना गरिनेछ ।
२०२६ साल जेठ १ गते स्थापना भएको बीमा समिति २०७९ साल कार्तिक २२ गतेबाट नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ । स्थापनाको सुरुवाती समय लामो समयसम्म अर्थमन्त्रालयको मातहतको निकायको रुपमा रहेको बीमा प्राधिकरण ५७ वर्ष पुरा गर्दाको अवस्थासम्म आईपुग्दा एक सक्षम, सवल र स्वतन्त्र नियमनकारी निकायको रुपमा स्थापित भएको छ ।
बीमा ऐन २०२५ जारी भएपछि २०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो । पञ्चायती संसदबाट बीमा ऐन २०२५ जारी भइसकेको अवस्थामा बीमा समिति गठन गरिएको थियो । अहिले त्यही बीमा समिति बीमा प्राधिकरणको रुपमा कार्यरत रहेपनि राजनीतिक हस्तक्षेपको सिकार हुन भने छोडेको छैन। विगतमा कांग्रेस, एमाले र माओवादीको हस्तक्षेपको सिकार बनेको बीमा प्राधिकरण अहिले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि मूलत प्रधानमन्त्री बालेन्द्र शाहको टिमले हस्तक्षेप गर्न खोजिरहेको अवस्था छ ।
स्थापना ५८ औं बार्षिकोत्सव मनाइरहँदा आज बीमा प्राधिकरण एक स्वतन्त्र र अधिकार सम्पन्न बीमा नियामक निकायको रुपमा स्थापित भइसकेको छ । बीमा व्यवसायको आकारमा आएको बृद्धिको प्रभावकारी नियमन र बीमा क्षेत्रले हासिल गरेको उपलब्धीलाई संस्थागत गर्ने दायित्व लिएर अघि बढिरहेको छ र आगामी दिनमा अझै प्रभावकारी नियमन गर्नुपर्ने दायित्व बीमा प्राधिकरणको काँधमा आईपरेको छ ।
बीमा प्राधिकरणको ५८ औं बार्षिकोत्सवको अवसरमा पुनर्बीमा कम्पनीहरु, जीवन बीमा कम्पनीहरु, निर्जीवन बीमा कम्पनीहरु, लघु बीमा कम्पनीहरु पुनर्बीमा ब्रोकर कम्पनीहरु, ब्रोकर कम्पनीहरु, निर्जीवन बीमा कम्पनीहरु, बीमा अभिकर्ता, बीमा सर्भेयरहरु सबैमा बीमा प्राधिकरणले शुभकामना ज्ञापन गरेकोछ । ५८ औं बार्षिकोत्सवको अवसरमा सबै बीमाकर्मीहरुमा हाम्रो हार्दिक शुभकामना ।












