राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्रीकै मातहतमा सारियो

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत फर्काएको छ । सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको थियो । नियमावली स्वीकृत भएसँगै राजपत्रमा प्रकाशित प्रधानमन्त्री कार्यालयका ४८ वटा कार्यक्षेत्रमध्ये राष्ट्रिय अनुसन्धान विभागलाई २८ नम्बरमा समावेश गरिएको छ ।
यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालय मातहत सारिएको थियो । तर २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेको निर्णयप्रति त्यसबेला आलोचना समेत भएको थियो ।बालेन नेतृत्वको सरकार पनि ओलिको पथमा अघि बढेको देखिएको छ ।












