आन्तरिक राजस्व र कम्पनी रजिस्ट्रारबीच प्रणाली एकीकरण, अब एउटै विवरणले कर र दर्ता दुवै प्रक्रिया पूरा हुने

१ जेष्ठ २०८३, शुक्रबार १३:३८

काठमाडौँ । आन्तरिक राजस्व विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयबीच विद्युतीय माध्यमबाट स्वचालित रूपमा विवरण आदानप्रदान गर्ने समझदारी भएको छ । यससँगै कर प्रशासनमा हुने झमेला हट्ने र कम्पनीहरूले एउटै निकायमा विवरण बुझाए पुग्ने व्यवस्था हुने भएको छ ।

सरकारको शासकीय सुधार सम्बन्धी कार्ययोजनाअनुसार कर प्रशासन र कम्पनी प्रशासनलाई थप छिटो, पारदर्शी र भरपर्दो बनाउने उद्देश्यले उक्त समझदारी गरिएको हो । समझदारी पत्रमा आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अर्याल र कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार बलराम निरौलाले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार अब दुवै निकायका विद्युतीय प्रणालीहरूबीच अन्तरआबद्धता कायम हुनेछ । आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘एकीकृत कर प्रणाली’ (आईटीएस) र कम्पनी रजिस्ट्रारको कार्यालयले सञ्चालन गरेको ‘कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली’ (सीएएमआईएस) बीच एपीआईमार्फत सिधै तथ्याङ्क साटासाट गरिनेछ ।

यस व्यवस्थापछि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरूको विवरण, अद्यावधिक जानकारी, पुँजी वृद्धि, सेयर लगत, सञ्चालक तथा सेयरधनीमा भएको परिवर्तन तथा कम्पनी खारेजी सम्बन्धी सूचनाहरू आन्तरिक राजस्व विभागले स्वतः प्राप्त गर्नेछ ।

यसले गर्दा कम्पनीहरूले कर अनुपालन र दर्तासम्बन्धी विवरण दुवै निकायमा पटक–पटक बुझाउनुपर्ने झन्झट अन्त्य हुने र प्रशासनिक प्रक्रियामा सहजता आउने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*