रास्वपा सरकारसँग त्रसित शेयर लगानीकर्ताः राताम्यमा डुब्दै लगानी, अझै किन छ खतरा ?

१ जेष्ठ २०८३, शुक्रबार १५:०५

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजार तीन दिनको गिरावटपछि आज सामान्य अकंले बढेको हो । बजार केहि सामान्य बढेपनि समग्रमा बजार सुस्त रहेको छ । साना तथा ठूला दुवै प्रकारका लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढाएको देखिन्छ । बजारको यो अवस्थाले तत्काल सुधारको संकेत नदेखिएको विश्लेषण गरिएको छ ।

पछिल्लो समय सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक भए पनि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्न सकेको छैन । बजारलाई प्राथमिकता दिएको भनिए पनि व्यवहारिक रूपमा विश्वासयोग्य सुधार नदेखिँदा लगानीकर्ताको अपेक्षा निराशामा परिणत भएको छ । परिणामस्वरूप बजारमा नयाँ खरिद चासो कमजोर बनेको र बिक्री चाप हावी हुँदै गएको छ ।

विशेषगरी पछिल्लो केही दिनयता प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा थप अनिश्चितता बढेको छ । यसले बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गर्दै लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको विश्लेषकहरू बताउँछन् । जोखिम न्यूनीकरणका नाममा लगानीकर्ताले सेयर बिक्री बढाउँदा बजार अझै दबाबमा परेको देखिन्छ ।

यस्तै, केही महिना अघिसम्म दैनिक २० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेको बजार अहिले उल्लेख्य रूपमा संकुचित भएको छ । पछिल्लो समयमा कारोबार रकम घटेर २ देखि ३ अर्ब रुपैयाँको सीमामा सीमित हुन थालेको छ । यसले बजारमा सहभागिता घट्दै गएको र तरलता कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ ।

नयाँ सरकार गठनअघि बजारमा देखिएको उत्साह अहिले क्रमशः हराउँदै गएको छ । सरकार गठनपछि सुधारका विभिन्न प्रयास भए पनि बजारले अपेक्षित गति लिन सकेको छैन । नीतिगत स्थिरता र विश्वास अभावका कारण लगानीकर्तामा प्रतीक्षाको मनोवृत्ति बढेको देखिन्छ, जसले बजारलाई थप सुस्त बनाएको छ ।

यद्यपि, आधारभूत पक्ष भने पूर्ण रूपमा कमजोर नभएको विश्लेषकहरूको भनाइ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक रहेको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधि विस्तार हुने संकेतले दीर्घकालमा बजारलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । तत्कालीन अस्थिरताबीच पनि दीर्घकालीन दृष्टिकोणले बजारप्रति आशा कायमै रहेको विश्लेषकहरूको निष्कर्ष छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७७ अकंले बढेर २७३१.९४ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।

अझै ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२० कम्पनीको घटेको छ । २२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*