बालेनको सेतो सर्टसँग डिडिसीको चिजः दुधको खपत बढ्छ -अध्यक्ष दाहाल

२ जेष्ठ २०८३, शनिबार १६:५५

काठमाडौं । आजको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारको लगानी रहेको दुग्ध विकास संस्थान (डिडिसी) को कारखानामा बनेको चिज खाइरहेको तस्विर सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन्द्र शाहले सेतो सर्ट लगाएर डिडिसीमा बनेको याकको चिज खाँदै गरेको फोटो पोष्ट गरेका छन् । उक्त फोटोमा कमेन्ट गर्नेहरुले राष्ट्रिय उद्योगको प्रबद्र्धन गरेको तथा सरकारी कम्पनीको प्रबद्र्धन गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

सेतो सर्टमा डिडिसीको चिज टोकिरहेका प्रधानमन्त्रीले तस्विरले कृषि प्रति सरकारको स्पष्ट दृष्टिकोण रहेको देख्न सकिन्छ । दुग्ध विकास संस्थानले हिमाली क्षेत्रबाट याकको दुध संकलन गरी चिज उत्पादन गर्दै आएको छ । याकको चिज नेपालको दुग्धजन्य पदार्थहरु मध्ये उत्कृष्ट उत्पादन हो ।

प्रधानमन्त्री शाहले स्वदेशमै उत्पादन भएको दुधबाट बनेको चिज खाइरहेको फोटो पोष्ट गरेपछि नेपालमा दुग्धजन्य उत्पादनहरुले बजार पाउने अपेक्षा ह्वात्तै बढेको छ ।

नेपाल डेरी एसोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले प्रधानमन्त्रीले डेरी प्रोडक्टको फोटो सामाजिक सञ्जालमा शेयर गर्नु राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने पक्षमा सरकार रहेको देखिएको बताउँछन् । ‘देशको सर्वोच्च निकायमा रहेका व्यक्तिहरुले यसरी डेरी प्रोडक्ट खाँदै गरेको फोटो शेयर गर्दा सकारात्मक सन्देश जान्छ’, अध्यक्ष दाहालले भने ‘हेर्दा सामान्य लागे पनि यसले डेरी उत्पादनको खपत बृद्धि भई गाउँ गाउँमा दुधको माग बढी हुने विश्वास गर्न सकिन्छ’ । किसानको दुधले मूल्य पाएर शहरको पैसा गाउँमा पुग्न सक्दछ । यसलाई मैले अत्यन्तै सकारात्मक रुपमा लिएको अध्यक्ष दाहालले बताए ।

अनौपचारिक तथ्याङ्क अनुसार नेपालमा बार्षिक ४० अर्ब रुपैयाँसम्मको दुग्धजन्य पदार्थको उत्पादन हुने गर्दछ भने बार्षिक दुई अर्ब लिटर दुध उत्पादन हुने गर्दछ । सो मध्ये जम्मा १७ प्रतिशत दुध मात्रै औपचारिक क्षेत्र डेरीमार्फत बिक्री हुने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*