सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी मस्त निद्रामा, दुई ट्रक भेप नेपालतिर हुईकिँदै…

३ जेष्ठ २०८३, आईतवार १२:५०

काठमाडौं । शुक्रबार सदाझै मुस्ताङ्को कोरोला भन्सार नाका बन्द भइसकेको थियो । मध्येराति अन्दाजी १ बज्नै लागेको थियो । जेठ २ गते औंशी परेकोले शुक्रबार मध्यराति चकमन्न अध्यारो थियो । करिब १२ बजेतिर चिनियाँ नाकाबाट ना६ख ४७४३ र ना५ख ७९२१ नम्वरका दुई वटा ट्रकहरु नेपालतर्फ प्रवेश गर्दछन् ।

उच्च हिमाली क्षेत्र मुस्ताङमा स्थापना गरिएको नेपालतर्फको भन्सारमा पुर्वाधार र सुविधा नभएकोले रातिको समयमा भन्सार खोलिदैन । तर, शुक्रबार मध्यराति (समय अनुसार शनिबार विहान नहुदै) कोरोला नाकामा चीनतर्फबाट नेपाल आउने ठाउँका ढाटहरु सबै खुल्लै थिए । दुई वटा ट्रकहरु अत्यन्तै लो लाइटमा बिरालोको चालमा नेपालतर्फ आइरहेका थिए । त्यहाँ तैनाथ भएका सशस्त्र प्रहरी, नेपाल प्रहरी सबै मस्त निद्रामा थिए । त्यसैगरी भन्सारका कर्मचारीहरु पनि मस्त निद्रामा थिए ।

कर्मचारीहरु मस्त निद्रामा भएकोले र भन्सारका सबै ढोकाहरु (ढाट) खोलिएकोले ट्रकहरु नरोकी सिधैं नेपालतर्फ प्रवेश गरिरहेका थिए । भन्सार प्रमुखले सूचना पाए आज नाकामा केही गडबडी हुँदैछ, त्यसैले प्रहरी, सशस्त्र प्रहरी कसैलाई केही नभनि एउटा टोली भन्सार यार्डभन्दा केही तल गएर बसिरहेको थियो । ट्रक विस्तारै अघि बढिरहेको थिए । उनीहरु निर्वाध अघि बढिरहेका थिए । करिब एक महिनाअघि मात्रै त्यहाँ पुगेका भन्सार प्रमुुखले यो सबै चाल पाएपछि एक्सन सुरु हुन्छ ।

मुस्ताङ जिल्लाको लोमान्थाङ गापा–४ स्थित एक्लेभट्टी भन्ने स्थानबाट उक्त ट्रक नियन्त्रणमा लिइन्छ । सुरुमा त बलजफ्ती गर्न खोजेको उक्त ट्रकवालाहरुले पछि भन्सार प्रमुखसहितको टोलीले सिल गर्न लागेको चाल पाएपछि चुपचाप छोडिदिए । अनि सशस्त्र प्रहरी र प्रहरीलाई खवर गरियो । सुरक्षा दिएर राख्न भनियो । फेरि पनि भन्सार कार्यालयलाई पर्याप्त विश्वास भएन । र, केही कर्मचारीले त्यहाँ नछोडी बस्न भनियो । शनिबार विहान भएपछि उक्त गाडी खानतलासी गर्दा २५९ वटा कार्टुनभित्र लुकाएर राखिएको अवस्थामा एक लाख २० हजार थान प्रतिबन्धित भेप भेटियो । सो ट्रकमा भेपको साथमा आठ बोरा जुत्ता, १५ बोरा लत्ता कपडा, सामान प्याकिङमा प्रयोग हुने करिब १५ केजी खाली कार्टुन बरामद गरिएको भन्सार कार्यालय कोरालाले जनाएको छ ।

सो क्रममा धादिङ धुनिबेसी निवासी चालक सन्तोष लामा, सिन्धुपाल्चोक निवासी चालक फुन्जु दोर्जे तामाङ र सिन्धुपाल्चोककै पासाङ शेर्पालाई पक्राउ गरिएको छ ।
अब प्रश्न उठेको छ– देशमा शान्ति सुरक्षा र सीमा सुरक्षाको जिम्मेवारी समेत लिएर सीमानामै खटिएको सशस्त्र प्रहरीहरु किन निदाए ? कसले सुत्न आदेश दियो ? भन्सार नाकाको गेटहरु कसको आदेशले खुल्लै राखियो ? नेपाल प्रहरीका ड्युटीमा खटिएकाहरु के गर्दै थिए । दुई गाडी भेप १० हजार सिसीको ट्रकमा राखेर सुनसान मध्यराति सडकमा दौडिदा करिब ५०० मिटर परसम्म निद्रा खुल्ने आवाज आउँछ, तर मुस्ताङको घटनामा कसैले चाल नै पाएन ! त ? प्रश्न उठेको छ ।

यति ठूलो तस्करमिा क–कसको सेटिङ छ ? छानविन गर्ने निकायले काम चलाउ छानविन गर्दैछ कि सिआईबी लगाएर भेप तस्करीको नेक्सस नै पत्ता लगाउने गरी गहन छलफल हुन्छ ? राज्यका मूल व्यक्तिहरुका संरक्षण बिना यति ठूलो परिणाममा प्रतिबन्धित भेप कसैले नेपाल छिराउन सक्छ त ? विगतमा झै भरियालाई देखाएर मुख्य योजनाकारलाई उन्मुक्ति दिने प्रयास त हुँदैन ?

सुशासन, भ्रष्टाचारको अन्त्य र तस्करीहरुको अन्त्यको नारा दिएको सरकारले साँच्चै सिआईबी लगाएर छानविन गर्न सक्ला ? आज प्रश्न उठेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*