जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्च १२ प्रतिशत बढ्यो, कुन कम्पनीको कति?

३ जेष्ठ २०८३, आईतवार १३:०७

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले आफ्ना अभिकर्तालाई व्यवसाय ल्याएबापत दिएको कमिसन खर्च १२.०४ प्रतिशतले बढेको छ। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीहरूको कुल अभिकर्ता कमिसन खर्च ११ अर्ब ४ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च ९ अर्ब ८५ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

सबैभन्दा धेरै अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म २ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ अभिकर्ता कमिसनबापत खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो खर्च २ अर्ब ४१ करोड १६ लाख रुपैयाँ थियो।

त्यसपछि नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६२ करोड २५ लाख रुपैयाँ, एलआईसी नेपालले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब ४ करोड ३० लाख रुपैयाँ अभिकर्तालाई कमिसन दिएका छन्। यस्तै सूर्यज्योति लाइफले ७४ करोड रुपैयाँ, एशियन लाइफले ५९ करोड ७० लाख रुपैयाँ, सिटिजन लाइफले ५६ करोड २६ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ५४ करोड १० लाख रुपैयाँ कमिसनबापत खर्च गरेका छन्।

त्यसैगरी आइएमई लाइफले ४३ करोड ६४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४२ करोड २३ लाख रुपैयाँ, मेट लाइफले ४१ करोड ४८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३९ करोड ६३ लाख रुपैयाँ तथा सन नेपाल लाइफले ३१ करोड ६७ लाख रुपैयाँ अभिकर्तालाई कमिसन दिएका छन्। राष्ट्रिय जीवन बीमा कम्पनीको यस्तो खर्च १४ करोड ३३ लाख रुपैयाँ मात्रै रहेको छ।

वृद्धिदरका आधारमा हेर्दा आइएमई लाइफको अभिकर्ता कमिसन खर्च सबैभन्दा धेरै २९.९० प्रतिशतले बढेको छ। त्यसपछि रिलायबल नेपाल लाइफको १७.६१ प्रतिशत, सिटिजन लाइफको १७.४८ प्रतिशत तथा सानिमा रिलायन्स लाइफको १५.४१ प्रतिशतले वृद्धि भएको देखिन्छ। सबैभन्दा कम वृद्धि राष्ट्रिय जीवन बीमा कम्पनीको २.०८ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*