विकल्पबिना बस्ती हटाएको भन्दै बुटवलमा सुकुम्वासीको शक्ति प्रदर्शन, स्थायी व्यवस्थाको माग

काठमाडौँ । रुपन्देहीको बुटवलमा आइतबार देशभरका सुकुम्वासीले विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीनलाई हटाउन नहुने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा गरिएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो । प्रदर्शनकारीहरूले त्यहाँबाट र्यालीसहित मिलनचोक, बसपार्क र पुष्पलाल पार्क हुँदै ट्राफिक चोकसम्म पुगेका थिए । ट्राफिक चोकमा पुगेर कार्यक्रम कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाबाट आएका सुकुम्वासीको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै दीर्घकालीन व्यवस्थाबिना बस्ती हटाउने काम बन्द गर्न माग गरेका थिए ।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले विकल्प नदिई सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएको र जबर्जस्ती हटाउने प्रयास गरेको आरोप लगाए । उनले दीर्घकालीन योजना तथा पुनःस्थापनाको व्यवस्था नगरी हतारमा बस्ती हटाउँदा देशभरका करिब १२ लाखभन्दा बढी परिवार प्रभावित भएको बताए । उनका अनुसार यसबाट झन्डै ५० लाख नागरिक प्रत्यक्ष असरमा परेका छन् ।
प्रदर्शनकारीहरूले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि स्थायी नीति बनाउन, सुरक्षित आवासको सुनिश्चितता गर्न र जबर्जस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।












