‘नोभा’ आइसक्रिम खान अयोग्य ठहर, हानिकारक जीवाणु भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादन हुने ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार उक्त निर्देशन जारी गरेको जनाएको छ ।
विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन भेटिएको हो । परीक्षणका क्रममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट तथा इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणु मापदण्डभन्दा बढी मात्रामा फेला परेको विभागले जनाएको छ ।
पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिबाट उत्पादन गरिएको ‘नोभा’ ब्रान्डको ब्याच नम्बर सीओ२ रहेको १ हजार मिलिलिटरको आइसक्रिम तत्काल बजारबाट फिर्ता गर्न तथा त्यसको बिक्री वितरणमा रोक लगाउन विभागले निर्देशन दिएको हो ।
विभागले उपभोक्तालाई पनि उक्त ब्याचको आइसक्रिम उपभोग नगर्न आग्रह गरेको छ ।












