आयोडिन नभएको नुन बजारमा छ्याप्छ्याप्ती,बिक्री-वितरण तत्काल रोक्न माग

५ जेष्ठ २०८३, मंगलवार १०:२८

काठमाडौं । नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने जनस्वास्थ्य समस्या पुनः बढ्न सक्ने चेतावनी दिँदै चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले आयोडिनविहीन नुनको बिक्री–वितरण तत्काल रोक्न सरकारसँग माग गरेका छन् । खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन बजारमा सहज रूपमा भित्रिन थालेपछि बालबालिका, गर्भवती महिला र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम बढेको उनीहरूको निष्कर्ष छ ।

जनस्वास्थ्य विज्ञहरूले झापा लगायत सीमावर्ती जिल्लाका सुपरमार्केट तथा खाद्यान्न पसलमा आयोडिन नभएको नुन खुलेआम बिक्री भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता उत्पादनमाथि तत्काल बजार अनुगमन गर्नुपर्ने बताएका छन् । उनीहरूले संघ, प्रदेश र स्थानीय सरकारलाई संयुक्त रूपमा सक्रिय भएर मापदण्डविपरीतका नुन जफत गर्न आग्रह गरेका छन् ।

सरकारले २०८२ साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री–वितरणको अनुमति दिएपछि गुणस्तरहीन नुन बजारमा प्रवेश गरेको भन्दै चिकित्सकहरूले नियमन कमजोर भएको आरोपसमेत लगाएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै काठमाडौंमा गरिएको परीक्षणमा ‘हिमालयन पिङ्क रक साल्ट’मा आयोडिनको मात्रा नभेटिएको जनाएको थियो । त्यस्तै ‘ब्ल्याक साल्ट’ नाममा भारतीय गुणस्तरहीन नुन पनि बजारमा बिक्री भइरहेको पाइएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार आयोडिन मानव शरीरका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व हो । यसले थाइरोइड ग्रन्थीमार्फत हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ, जसले मस्तिष्क विकास, शारीरिक वृद्धि तथा शरीरका कोषहरूको नियमित कार्यमा महत्वपूर्ण भूमिका खेल्छ । आयोडिनको कमीले बालबालिकामा मानसिक विकास कमजोर हुने, सिकाइ क्षमता घट्ने, सुस्तता, बोल्न नसक्ने, आँखा डेढो हुने तथा शारीरिक वृद्धि अवरुद्ध हुने जोखिम रहने जनाइएको छ । वयस्कमा भने गलगाँड, थाइराइड, मानसिक तथा शारीरिक क्षमता कमजोर हुने समस्या देखिन सक्छ ।

चिकित्सकहरूले विशेषगरी गर्भवती महिला र बालबालिकाका लागि आयोडिनयुक्त नुन अनिवार्य रहेको बताएका छन् । उनीहरूका अनुसार सरकारले प्रवर्द्धन गर्दै आएको दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुन सुरक्षित विकल्प हो । ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्ने सरकारी अभियानलाई प्रभावकारी बनाउन पनि बजारमा गुणस्तरीय नुनको उपलब्धता सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा उत्पादन तहमा नुनमा ५० पीपीएम, बिक्री तहमा ३० पीपीएम र उपभोक्ता तहमा कम्तीमा १५ पीपीएम आयोडिन हुनुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै नुनमा जलांश अधिकतम ६ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत र पानीमा नघुल्ने पदार्थ अधिकतम १ प्रतिशत हुनुपर्ने मापदण्ड तोकिएको छ । मापदण्डभन्दा कम सोडियम क्लोराइड भएको नुनले रक्तचापलगायत स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूको भनाइ छ ।

स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले पनि आयोडिनविहीन नुन नियन्त्रणका लागि बजार अनुगमन कडा बनाइने बताएका छन् । सीमावर्ती नाकाबाट भइरहेको अवैध आयात नियन्त्रण गर्दै मापदण्डविपरीतका नुन बिक्री रोक्ने तयारी भइरहेको प्रशासनको भनाइ छ । उपभोक्तालाई पनि किनमेल गर्दा नुनको गुणस्तर र आयोडिनको मात्रा जाँच्न सचेत हुन आग्रह गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार देशभर आयोडिनयुक्त नुनको आपूर्ति नियमित रहेको छ । गत आर्थिक वर्षमा करिब दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री–वितरण गरिएको तथा अभाव हुन नदिन पर्याप्त मौज्दात राखिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*