शेयर बजारमा जीवन बीमा कम्पनीको लगानी ४६ अर्बः सानिमा रिलायन्स र नेशनल आक्रामक, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा ४६ अर्बभन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ४६ अर्ब ११ करोड ७७ लाख ७२ हजार रुपैयाँ लगानी गरेका हुन् ।
यस अवधिसम्ममा हिमालयन लाइफले शेयर बजारमा सबैभन्दा धेरै लगानी गरेको छ । चालु ९ महिनासम्मको अवधिमा हिमालयन लाइफले शेयर बजारमा १२ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो ।
हिमालयनपछि दोस्रो धेरै रकम शेयर बजारमा लगानी गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म शेयर बजारमा ६ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको शेयर बजारमा लगानी ४ अर्ब ८८ करोड रुपैयाँ मात्रै रहेको थियो ।

त्यसैगरी चालु आवको तेस्रो त्रैमाससम्म सूर्यज्योति लाइफले शेयर बजारमा लगानी ९०.६५ प्रतिशतले बढाएर ५ अर्ब १५ करोड, एलआईसी नेपालले २९ प्रतिशतले बढाएर ३ अर्ब १३ करोड, नेशनल लाइफले १२७ प्रतिशतले बढाएर ३ अर्ब २ करोड, आइएमई लाइफले ११३ प्रतिशतले बढाएर २ अर्ब ८८ करोड, रिलायबल नेपाल लाइफले ११० प्रतिशतले बढाएर २ अर्ब ८४ करोड, प्रभु महालक्ष्मी लाइफले ३९ प्रतिशतले बढाएर २ अर्ब ३३ करोड र सानिमा रिलायन्स लाइफले १६१ प्रतिशतले बढाएर २ अर्ब ७ करोड रुपैयाँ पुराएका छन् ।
समिक्षा अवधिमा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले भने शेयर बजार लगानी घटाएको देखिएको छ । सन नेपाल लाइफले शेयर बजार लगानी ७.७८ प्रतिशतले घटाएर १ अर्ब ५९ करोड र राष्ट्रिय जीवन बीमाले ६८ प्रतिशतले घटाएर ६७ करोड रुपैयाँ पुराएका छन् ।
यसअवधिमा सिटिजन लाइफले शेयर बजार लगानी ६१ प्रतिशतले बढाएको छ भने एशियन लाइफले साढे ३० प्रतिशतले बढाएको छ ।












