निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटना बीमा बापत २० लाख भुक्तानी

५ जेष्ठ २०८३, मंगलवार १६:३१

काठमाडौं । गत २०८२ साल फागुन २१ गते सम्पन्न आम निर्वाचनमा खटिएका कर्मचारीहरूको सामूहिक दुर्घटना बीमा अन्तर्गत मृतक मतदान अधिकृतका परिवारलाई बीमा दाबीबापतको रकम हस्तान्तरण गरिएको छ।

निर्वाचन आयोगमार्फत निर्वाचन कार्यमा खटिएका २ लाख ८ हजार ७०१ जना सरकारी कर्मचारीको सामूहिक दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत गरिएको थियो। सोही क्रममा २०८२ साल फागुन १८ गते रामेछाप नगरपालिका–२ मा ना ७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटना हुँदा निर्वाचन कार्यमा खटिएका मतदान अधिकृत डोर प्रसाद घिमिरेको मृत्यु भएको थियो।

दुर्घटनापछि बीमा दाबी प्रक्रिया पूरा भएसँगै राष्ट्रिय बीमा कम्पनीले मृतकका परिवारलाई २० लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको हो। उक्त रकमको चेक आज जेठ ५ गते निर्वाचन आयोगको कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ र निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले संयुक्त रूपमा मृतकका परिवारका सदस्य नवीन घिमिरेलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद आचार्य, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला, दाबी भुक्तानी विभागका सहव्यवस्थापक दीपकराज पाण्डेय तथा सहायक व्यवस्थापक दीपक खत्रीलगायतको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*