एफएटीएफको ग्रे सूचीबाट बाहिरिन सक्रिय नेपाल, गभर्नर पौडेल र एपीजी टोलीबीच रणनीतिक छलफल

५ जेष्ठ २०८३, मंगलवार १८:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र नेपाल भ्रमणमा रहेको एशिया प्रशान्त समूह अन मनि लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड शानन नेतृत्वको टोलीबीच आज भेटवार्ता भएको छ ।

भेटका क्रममा वित्तीय कार्य कार्यदल (एफएटीएफ) को सघन अनुगमन सूची अर्थात् ग्रे सूचीमा सूचीकृत भएपछि नेपालले हासिल गरेको प्रगति र आगामी रणनीतिबारे छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

छलफलमा बैंकिङ क्षेत्रको सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्याङ्कन, जोखिममा आधारित सुपरिवेक्षण, कानुनी तथा नीतिगत सबलीकरण, पारदर्शिता प्रवर्द्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय तथा निजी क्षेत्रसँगको समन्वय, अन्तर्राष्ट्रिय सहकार्य समीक्षा समूहमा गरिने प्रतिवेदन प्रस्तुतीकरणलगायतका विषय समेटिएका थिए ।

त्यसैगरी, ग्रे सूचीबाट बाहिरिने सन्दर्भमा संस्थागत क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय वित्तीय निकायबाट प्राप्त हुनसक्ने प्राविधिक सहयोगबारे पनि छलफल भएको थियो ।

सो अवसरमा गभर्नर पौडेलले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सुझाव कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको धारणा राखेका थिए ।

नेपाल एफएटीएफको ग्रे सूचीमा परेपछि एपीजीको तर्फबाट भएको यो पहिलो भ्रमण हो । भेटवार्तामा एपीजीका नीतिगत अधिकृत किया सासल, विश्व बैंकका अधिकारीहरू, नेपाल राष्ट्र बैंकका सम्बन्धित विभागका कार्यकारी निर्देशक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव, वित्तीय जानकारी इकाइका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*