पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले नेपालको पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी र हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम सफा रहेको छ।
महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा बादल लाग्ने जनाएको छ। साथै लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि मौसम बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका धेरै स्थानमा मौसम सफा रहने बताइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै मधेश प्रदेशसहित अन्य हिमाली तथा पहाडी क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। साथै केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।












