आरम्भ चौतारी लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। संस्थाले देशभर रहेका आफ्ना शाखा कार्यालयका लागि व्यवस्थापकीयदेखि सहायक र चालकसम्मका कर्मचारी माग गरेको हो।
संस्थाले वरिष्ठ प्रवन्धक, प्रवन्धक, नायब प्रवन्धक, सहायक प्रवन्धक, सूचना प्रविधि विभाग प्रमुख, कार्यक्रम तथा अनुगमन अधिकृत, आन्तरिक लेखा परीक्षण विभाग, कानुन अधिकृत, शाखा प्रवन्धक, फिल्ड सहायक, प्रशिक्षार्थी सहायक तथा सवारी चालक पदमा कर्मचारी माग गरिएको छ।
सूचना प्रविधि विभाग प्रमुख पदका लागि १ जना, कार्यक्रम/अनुगमन तथा आन्तरिक लेखा परीक्षण विभागका लागि ८ जना, कानुन अधिकृतका लागि १ जना, शाखा प्रवन्धक तथा फिल्ड सहायकका लागि २० जना, प्रशिक्षार्थी सहायकका लागि १५ जना र सवारी चालकका लागि १ जना माग गरिएको छ। वरिष्ठ व्यवस्थापकीय तहका पदमा भने केही संख्या कर्मचारी माग गरिएको छ।

व्यवस्थापकीय तहका पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर वा स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अनुभव भएको हुनुपर्ने उल्लेख छ। सूचना प्रविधि विभाग प्रमुख पदका लागि कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा अध्ययन गरेको तथा एसक्यूएल/माईएसक्यूएल डाटाबेस, नेट्रोकवर्किङ, सिस्टम एनालिसिस, साइबर सेक्युरिटि लगायत क्षेत्रमा ज्ञान भएको उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ।
त्यस्तै अधिकृत तहका पदका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा अनुभव भएको हुनुपर्नेछ भने कानुन अधिकृत पदका लागि कानून विषयमा स्नातक र अधिवक्ता लाइसेन्स आवश्यक पर्ने बताइएको छ। सहायक तहका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ। प्रशिक्षार्थी सहायक पदमा अनुभव नभएका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्। सवारी चालक पदका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण र चारपाङ्ग्रे सवारी चालक अनुमति पत्र अनिवार्य गरिएको छ।
संस्थाले व्यवस्थापकीय तहका उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, अधिकृत तहका लागि २१ देखि ४० वर्ष र सहायक तहका लागि १८ देखि ३५ वर्षभित्र हुनुपर्ने जनाएको छ। महिला उम्मेदवारका हकमा उमेर सीमामा ५ वर्ष थप छुट दिइने उल्लेख छ। इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।












