वित्तीय संस्थाका कर्मचारीमाथिको बढ्दो दबाब कम गर्न फियुनको ध्यानाकर्षण

६ जेष्ठ २०८३, बुधबार १६:३८

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन) ले ग्लोबल आएइमई बैंक विराटनगर शाखामा कार्यरत कर्मचारी पिताम्बर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब र अस्वस्थ कार्यसंस्कृतिप्रति गम्भीर चिन्ता जनाएको छ ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत दिवंगत खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको हो । विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरूमा अस्वाभाविक लक्ष्यको चाप, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति तथा कर्मचारीहरूको मानसिक अवस्थाप्रति पर्याप्त संवेदनशीलता नदेखाइएकाले कर्मचारीहरू निरन्तर तनावमा काम गर्न बाध्य भइरहेको उल्लेख गरिएको छ ।

संघका अनुसार यस्तो कार्यवातावरणले कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक जीवन तथा पेशागत आत्मविश्वासमा नकारात्मक असर पारिरहेको छ । संस्थागत नाफाभन्दा कर्मचारीको जीवन, सम्मान र मानसिक सुरक्षा महत्वपूर्ण हुने उल्लेख गर्दै संघले श्रम ऐन र संविधानले सुनिश्चित गरेको सुरक्षित तथा मर्यादित कार्यवातावरण प्रत्येक श्रमिकको आधारभूत अधिकार भएको स्पष्ट पारेको छ ।

फियुनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ । यदि घटनासँग मानसिक दबाब, दुव्र्यवहार, दुरुत्साहन वा गैरजिम्मेवार कार्यशैली जोडिएको पाइए कानुनअनुसार कारबाही हुनुपर्ने संघको धारणा छ ।

संघले बैंक तथा वित्तीय क्षेत्रमा स्वस्थ कार्यसंस्कृति निर्माण, उचित कार्यसमयको सुनिश्चितता, अतिरिक्त कार्यको व्यवस्थित व्यवस्थापन, पर्याप्त जनशक्ति कायम तथा कर्मचारीहरूको मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी नीति अवलम्बन गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।

महासचिव विकास श्रेष्ठ र कार्यवाहक अध्यक्ष परशुराम खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा मानवीय संवेदना, श्रम सम्मान र सुरक्षित कार्यवातावरणबिना वित्तीय क्षेत्र दिगो र विश्वासयोग्य बन्न नसक्ने उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*