समस्याग्रस्त सहकारीका थप ३०४ साना बचतकर्ताले पाए रकम फिर्ता, ४६ अर्ब अझै बाँकी

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप ३०४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले बिहीबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको जनाएको हो।
समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। यसअघि समितिले कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिसकेको थियो।
समितिले पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ। आगामी दिनमा पनि बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गर्ने तयारी गरिएको समितिको भनाइ छ।
समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाख रुपैयाँभन्दा बढी बचत भएका व्यक्तिलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरेको छ। कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने करिब १८ हजार जना रहेको समितिले जनाएको छ।












