सिन्धुपाल्चोकका स्थानीय तहमा ३२ करोड बेरुजु, मेलम्चीमा मात्रै ८ करोड

काठमाडौं । महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरूमा कुल ३१ करोड ९२ लाख ४१ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ। प्रतिवेदनअनुसार १२ वटा स्थानीय तहमा गरिएको लेखापरीक्षणका क्रममा आर्थिक अनुशासन, खर्च व्यवस्थापन तथा कागजी प्रक्रियामा कमजोरी भेटिएपछि करोडौं रुपैयाँ बेरुजु कायम भएको हो।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहमध्ये मेलम्ची नगरपालिकामा सबैभन्दा बढी ८ करोड ३२ लाख ७० हजार रुपैयाँ बेरुजु देखिएको छ। दोस्रोमा वाह्रबिसे नगरपालिकामा ५ करोड २८ लाख ४८ हजार रुपैयाँ बेरुजु पाइएको छ। तेस्रोमा सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको ४ करोड १७ लाख ९६ हजार रुपैयाँ बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ भने चौथोमा सुनकोशी गाउँपालिकाको ३ करोड ७ लाख रुपैयाँ बेरुजु भेटिएको प्रतिवेदनमा उल्लेख छ।
त्यसपछि हेलम्बु गाउँपालिकाको २ करोड ९६ लाख ९४ हजार रुपैयाँ, लिसंखुपाखर गाउँपालिकाको १ करोड ९५ लाख ३७ हजार रुपैयाँ, त्रिपुरासुन्दरी गाउँपालिकाको १ करोड ७२ लाख ५६ हजार रुपैयाँ, बलेफी गाउँपालिकाको १ करोड २३ लाख ९५ हजार रुपैयाँ बेरुजु पाइएको छ। त्यसैगरी जुगल गाउँपालिकाको १ करोड १९ लाख ९ हजार रुपैयाँ, इन्द्रावती गाउँपालिकाको ९६ लाख ४६ हजार रुपैयाँ, पाँचपोखरी थाङपाल गाउँपालिकाको ६५ लाख ४६ हजार रुपैयाँ र भोटेकोशी गाउँपालिकाको सबैभन्दा कम ४७ लाख ३७ हजार रुपैयाँ बेरुजु फेला परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ।

रुपैयाँ हजारमा
मेलम्चीको ३ अर्ब ६३ करोड ८५ लाख ६२ हजार रुपैयाँ, वाह्रबिसेको १ अर्ब ७२ करोड ८१ लाख ५५ हजार रुपैयाँ, चौताराको २ अर्ब ९० करोड ८५ लाख २२ हजार रुपैयाँ र सुनकोशीको १ अर्ब २६ करोड २६ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो।
त्यसैगरी हेलम्बुको १ अर्ब ३४ करोड ३३ लाख ४८ हजार रुपैयाँ, लिसंखुपाखरको १ अर्ब १५ करोड २७ लाख ७४ हजार रुपैयाँ, त्रिपुरासुन्दरीको १ अर्ब २ करोड ७९ लाख १४ हजार रुपैयाँ र बलेफीको १ अर्ब २९ करोड १७ लाख ८० हजार रुपैयाँको लेखापरीक्षमा सो बेरुजु पाइएको हो। त्यस्तै जुगलको १ अर्ब ३२ करोड ९९ लाख १९ हजार रुपैयाँ, इन्द्रावतीको १ अर्ब ७५ करोड ९७ लाख ७९ हजार रुपैयाँ, पाँचपोखरीको १ अर्ब ४५ करोड ५ लाख २४ हजार रुपैयाँ र भोटेकोशीको १ अर्ब ४० करोड ३६ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गरिंदा उक्त बेरुजु देखिएको हो।
लेखापरीक्षण गरिएको रकमको तुलनामा बेरुजु रकम हेर्दा वाह्रबिसेको सबैभन्दा बढी ३.०३ प्रतिशत, सुनकोशीको २.३८ प्रतिशत, मेलम्चीको २.२९ प्रतिशत, हेलम्बुको २.२१ प्रतिशत, लिसंखुपाखरको १.६९ प्रतिशत, त्रिपुरासुन्दरीको १.६८ प्रतिशत, चौताराको १.४४ प्रतिशत बेरुजु भेटिएको छ। त्यसपछि बलेफीको ०.९६ प्रतिशत, इन्द्रावतीको ०.५५ प्रतिशत, पाँचपोखरीको ०.४५ प्रतिशत, भोटेकोशीको ०.३४ प्रतिशत र जुगलको सबैभन्दा कम ०.९ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ।












