टिकेन शेयर बजारको हरियालीः अधिकांश सूचक राताम्य हुँदा खुम्चियो कारोबार, बजेटको प्रतिक्षा हो ?

काठमाडौँ । लगातारको उतारचढावपछि शेयर बजार फेरि ओरालो लागेको छ । हिजो उच्च अंकले बढेर केही आशा जगाएको बजार आज भने पुनः राताम्य बनेको हो । बजेट आउन करिब एक साता मात्र बाँकी रहँदा लगानीकर्तामा बढेको अन्यौलले बजारमा दबाब सिर्जना गरेको देखिन्छ । नीतिगत स्पष्टता नहुँदा बजारले स्थिर दिशा समात्न सकेको छैन ।
पछिल्ला केही दिनको उतारचढावबीच हिजो देखिएको सुधार एक दिन पनि टिक्न सकेन । अघिल्लो दिनको हरियाली फेरि बिक्री चापमा परिणत हुँदा बजार सूचक पुनः घटेको हो । बजेटमा आउने व्यवस्था र नीतिगत निर्णयप्रति अनिश्चितता बढेसँगै लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ ।
कारोबार रकममा सामान्य सुधार देखिए पनि समग्र बजार गतिविधि भने सुस्त नै छ । केही समयअघि दैनिक २० अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार अहिले घटेर करिब २ देखि ३ अर्ब रुपैयाँको सीमामा खुम्चिएको छ । यसले बजारमा सहभागिता घट्दै गएको र लगानीकर्ताको सक्रियता कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ ।
सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको दाबी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन । अपेक्षित सुधार नआएपछि लगानीकर्तामा सुरुमा देखिएको उत्साह क्रमशः हराउँदै गएको छ । नयाँ खरिद चासो पनि सीमित बन्दै जाँदा बजारमा माग पक्ष कमजोर देखिएको छ ।
यता, पछिल्ला दिनहरूमा केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि पनि बजारमा थप अनिश्चितता थपिएको छ । यसले लगानीकर्ताको विश्वासमा असर पारी जोखिम घटाउने उद्देश्यले बिक्री दबाब बढाएको देखिन्छ, जसको असर सूचकमा प्रत्यक्ष परेको छ ।
यद्यपि, दीर्घकालीन आधार भने पूर्ण रूपमा कमजोर देखिँदैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधि विस्तार हुने संकेतले आगामी दिनमा बजारलाई केही समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३६ अकंले घटेर २७४२.११ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको ८७ लाख ९ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन अधिकांश सूचक राताम्य भएका छन् । आज म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै ०.१४ प्रतिशतले बढेको हो ।

बिहिबार ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।












