ग्रामीण विकास लघुवित्तलाई सूचना ढिलाइबारे नेप्सेले माग्यो स्पष्टिकरण

संस्थाको सञ्चालक समितिको यही जेठ ३ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि वार्षिक साधारण सभा (एजीएम) आयोजना गर्ने, सेयर दाखिल–खारेज (बुक क्लोज) गर्ने तथा लाभांश सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको थियो। तर सो निर्णयसँग सम्बन्धित सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने संवेदनशील सूचना नेप्सेको अनलाइन कारोबार प्रणालीमा तोकिएको समयसीमाभन्दा ढिलो गरी, जेठ ७ गते मात्र अपलोड गरिएको पाइएको नेप्सेले जनाएको छ।
नेप्सेका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) ले स्पष्ट व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने कुनै पनि निर्णय वा सूचना सोही दिन वा अर्को कारोबार दिन बजार खुल्नु अघि बिहान १०:३० बजेसम्म अनिवार्य रूपमा नेप्सेमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर उक्त संस्थाले तोकिएको समयसीमा पालना नगरेको देखिएपछि स्पष्टिकरण माग गरिएको हो।












