नेपालको वैदेशिक व्यापार १९ खर्ब नाघ्यो, आयातको दबाबले घाटा १४ खर्ब ४३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि वैशाख मसान्तसम्म) मा नेपालले कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको उच्च दबाबका कारण व्यापार घाटा भने अझै बढेको देखिएको छ ।
समीक्षा अवधिमा विभिन्न मुलुकबाट नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको तुलनामा १४.८२ प्रतिशतले वृद्धि हो । आयातमा देखिएको यो वृद्धि दरले आन्तरिक माग तथा उपभोग बढेको संकेत गरे पनि आयात–निर्भर संरचना अझै कमजोर रहेको स्पष्ट देखाउँछ ।
निर्याततर्फ भने पनि सुधारको संकेत देखिएको छ । चालु आवको १० महिनामा नेपालले २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यसअनुसार निर्यात १४.२५ प्रतिशतले वृद्धि भएको छ । निर्यातमा भएको वृद्धि सकारात्मक भए पनि आयातको तुलनामा यसको आकार निकै सानो रहेको छ ।
आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार असन्तुलन झन् गहिरिएको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँको तुलनामा १४.९२ प्रतिशतले बढी हो ।
समग्र वैदेशिक व्यापारको आकार पनि बढ्दै गएको देखिएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७५ प्रतिशतले वृद्धि हो ।
भन्सार विभागका अनुसार कुल व्यापार संरचनामा आयातको हिस्सा अझै अत्यधिक रहेको छ । आयातको हिस्सा ८७.१७ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा मात्र १२.८२ प्रतिशतमा सीमित रहेको छ । आयात र निर्यातबीचको अनुपात ६.७९ प्रतिशत रहेको तथ्यांकले नेपालको व्यापार संरचना अझै पनि आयातमुखी रहेको स्पष्ट देखाउँछ ।












