बजेटको मुखमा शेयर बजारमा हलचलः कारोबार साढे ४ अर्ब, किन लगानीकर्ता ‘पर्ख र हेर’ रणनीतिमा ?

८ जेष्ठ २०८३, शुक्रबार १५:०५

काठमाडौँ । बजेटको मुखमा नेप्सेमा देखिएको उतार–चढाबले समग्र शेयर बजारलाई पुनः अनिश्चितताको घेरामा पु¥याएको छ । पछिल्ला दिनहरूमा बजार लगातार घटबढको चक्रमा घुमिरहँदा लगानीकर्ताहरू ‘पर्ख र हेर’ रणनीतिमा बस्न बाध्य भएका छन् । हिजो राताम्य देखिएको बजार आज भने सामान्य सुधारतर्फ फर्किए पनि समग्र मनोबल अझै कमजोर नै देखिन्छ ।

बजारमा कारोबार रकममा केही सुधार देखिए पनि समग्र गतिविधि भने सुस्त छ । केही समयअघि दैनिक २० अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार अहिले घटेर करिब २ देखि ३ अर्ब रुपैयाँको सीमामा खुम्चिनु गम्भीर संकेतका रूपमा लिइएको छ । यसले बजारमा सहभागिता घट्दै गएको र लगानीकर्ताको सक्रियता उल्लेखनीय रूपमा कमजोर बनेको स्पष्ट देखाउँछ ।

सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको दाबी गरिरहे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन । नीतिगत सुधार र स्थायित्वको अपेक्षा गरे पनि व्यवहारिक रूपमा ठोस परिवर्तन नदेखिँदा लगानीकर्तामा सुरुमा देखिएको उत्साह क्रमशः हराउँदै गएको छ । नयाँ खरिद चासो पनि सीमित बन्दै जाँदा बजारमा माग पक्ष कमजोर बनेको विश्लेषण गरिएको छ ।

यता, पछिल्ला दिनहरूमा केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा थप अनिश्चितता थपिएको छ । यसले लगानीकर्ताको विश्वासमा असर पारी जोखिम न्यूनीकरणका लागि बिक्री दबाब बढाएको देखिन्छ, जसको प्रत्यक्ष प्रभाव नेप्से सूचकमा परेको छ । राजनीतिक तथा नियामक अनिश्चितताले बजारलाई थप संवेदनशील बनाएको छ ।

यद्यपि, दीर्घकालीन आधार भने पूर्ण रूपमा कमजोर देखिँदैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु र आर्थिक गतिविधि विस्तार हुने संकेतले आगामी दिनमा बजारलाई केही समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३८ अकंले बढेर २७५८.४९ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा सुधार आएको छ भने व्यापार समूह मात्रै घट्न पुगेको हो । आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*