नागरिकसँग संविधान संशोधन सुझाव माग्दै अशिम शाह नेतृत्वको कार्यदल
८ जेष्ठ २०८३, शुक्रबार १९:०२

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको नेतृत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ ले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ ।
कार्यदलले शुक्रबार सूचना प्रकाशित गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका सम्बन्धमा नागरिकको राय–सुझाव संकलन गर्ने निर्णय गरिएको जनाएको छ । सूचनामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ ।
कार्यदलको मिति २०८३/०१/१० को बैठकले संविधान संशोधन प्रक्रियामा नागरिक सहभागिता बढाउने उद्देश्यसहित सुझाव संकलन गर्ने निर्णय गरेको हो । त्यसअनुसार ७ दिनभित्र तोकिएको ठेगानामा सुझाव पठाउन आह्वान गरिएको छ ।
मन्त्रिपरिषद्को २०८२ चैत १६ को निर्णयअनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत गर्दै सरोकारवालाबाट सुझाव संकलन गर्ने जनाएको छ ।













