शंकास्पद विदेशी लगानीबारे निगरानी बढाउँदै सरकार, केही ठूला व्यापारिक समूह अनुसन्धानको घेरामा

१० जेष्ठ २०८३, आईतवार ०७:५१

काठमाडौं । नेपालमा सम्पत्ति शुद्धीकरण, शंकास्पद विदेशी लगानी तथा अफसोर कम्पनीमार्फत भएको लगानी संरचनाबारे अध्ययन गर्न आएको एपीजी/एफएटीएफ टोलीले नेपाल सरकारलाई आगामी चार महिनाभित्र प्रभावकारी कदम चाल्न सुझाव दिएको छ।

टोलीले विशेषगरी अफसोर कम्पनीमार्फत आएको लगानी, विदेशी लगानीको वास्तविक स्रोत, तहगत वित्तीय संरचना तथा लाभांश विदेश पठाउने प्रक्रियामा कमजोरी देखिएको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ। उक्त सुझावपछि अनुसन्धानको दायरामा रहेका केही व्यापारिक समूहमा चासो र दबाब बढेको बताइएको छ।

अरूण सर्राफ परिवारसँग जोडिएका केही कम्पनी तथा परियोजनामाथि सम्बन्धित निकायहरूले गम्भीर रूपमा अध्ययन गरिरहेको बताइएको छ। तीमध्ये तारागाउँ रिजेन्सी होटल, होटल याक एन्ड यति, ब्लु इनर्जी लिमिटेड तथा काठमाडौं स्पोट्र्स प्रालिसम्बन्धी विषय अनुसन्धानको केन्द्रमा रहका छन्।

तारागाउँ रिजेन्सी होटल प्रकरणमा हङकङ र ब्रिटिश भर्जिन टापुजस्ता क्षेत्रबाट आएको लगानी तथा भारतीय नागरिकसँग सम्बन्धित लगानी संरचनामाथि प्रश्न उठिरहेको जनाइएको छ। नेपाल राष्ट्र बैंकबाट लाभांश विदेश लैजान अनुमति नदिइएको अवस्थाले समेत उक्त लगानी संरचनामाथि थप शंका उत्पन्न भएको बताइन्छ।

त्यसैगरी होटल याक एन्ड यति प्रकरणमा लामो समयदेखि नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृतिबिनै लाभांश विदेश पठाइएको विषय अनुसन्धानको केन्द्रमा पुगेको छ। विदेशी विनिमय तथा विदेशी लगानीसम्बन्धी कानुन उल्लंघन भएको आशंकामा सम्बन्धित निकायहरूले कागजात जाँच गरिरहेको बताइएको छ। ब्लु इनर्जी लिमिटेडमा करिब १ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी शंकास्पद कम्पनीमार्फत इक्विटीका रूपमा आएको विषयसमेत अनुसन्धानको दायरामा आएको छ।

एपीजी/एफएटीएफ मूल्यांकनपछि नेपाल सरकारले उच्च तहका व्यापारिक समूहहरूमाथि निगरानी थप कडा बनाउने तयारी गरेको छ। नेपालले सुझाइएका सुधारात्मक कदम प्रभावकारी रूपमा कार्यान्वयन नगरे पुनः ग्रे लिस्टमा पर्ने जोखिम बढ्न सक्ने आकलन गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*