पाकिस्तानको रेलमा शक्तिशाली विस्फोटः २० जनाको मृत्यु, ७० भन्दा बढी घाइते

१० जेष्ठ २०८३, आईतवार १३:३३

काठमाडौं । पाकिस्तानको क्वेटा शहरस्थित चमन फाटक नजिक आइतबार रेल ट्र्याकमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।

विस्फोटका कारण एउटा रेलका तीन वटा डिब्बा ट्र्याकबाट उछिट्टिएका छन् भने दुई वटा डिब्बा पल्टिएको बताइएको छ। विस्फोट निकै शक्तिशाली भएकाले रेल ट्र्याक नजिक पार्क गरिएका धेरै सवारीसाधन क्षतिग्रस्त भएका छन्। आसपासका घरहरूमा समेत क्षति पुगेको जनाइएको छ।

घटनास्थलमा सेना र प्रहरी परिचालन गरिएको छ। पाकिस्तानका रेल मन्त्री मोहम्मद हानिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा शब्दमा निन्दा गरेका छन्।

रेलवे प्रवक्तामार्फत जारी विज्ञप्तिमा मन्त्री अब्बासीले क्वेटा क्यान्टबाट आएको एउटा शटल ट्रेन चमन फाटक नजिक विस्फोटको चपेटामा परेको बताएका छन्। उनका अनुसार विस्फोटपछि इन्जिनसहित तीन वटा डिब्बा ट्र्याकबाट उछिट्टिएका छन् र दुई वटा डिब्बा पल्टिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*