निर्जीवन बीमा कम्पनीहरूको कुल दाबी भुक्तानी करिब २० अर्ब, सलिको र शिखरको उच्च

१० जेष्ठ २०८३, आईतवार १३:४४

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ८० करोड ९० लाख रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.९१ प्रतिशतले बढी हो।

उक्त दाबी भुक्तानीमा रिइन्स्योरेन्सबाट कम्पनीहरूले फिर्ता पाउने रकम भने समावेश गरिएको छैन। बीमा दाबी भुक्तानी बढ्नुले बीमाप्रति दायित्व पनि बढ्दै गएको देखिन्छ। खासगरी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र वर्षाका कारण आएको बाढी पहिरोले गर्दा निर्जीवन बीमा दाबी भुक्तानी उच्च अंकले वृद्धि भएको हो।

सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा सालिको इन्स्योरेन्स रहेको छ। कम्पनीले ३ अर्ब २ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। दोस्रोमा शिखर इन्स्योरेन्सले २ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ र तेस्रोमा एनएलजी इन्स्योरेन्सले २ अर्ब २ करोड ९१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ३३ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

ओरियन्टल इन्स्योरेन्सले १ अर्ब २९ करोड ६७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २५ करोड २९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ६ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९४ करोड ४५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यस्तै नेशनल इन्स्योरेन्सले ५० करोड ३४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ३६ करोड २१ लाख रुपैयाँ तथा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १८ करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

वृद्धिदरका आधारमा हेर्दा सानिमा जिआइसीको दाबी भुक्तानी सबैभन्दा धेरै ९५.१३ प्रतिशतले बढेको छ। यस्तै नेपाल इन्स्योरेन्सको ७४.१४ प्रतिशत र ओरियन्टल इन्स्योरेन्सको ६९.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ। यता आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको दाबी भुक्तानी भने गत वर्षको तुलनामा घटेको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*