बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति

१० जेष्ठ २०८३, आईतवार १६:०३

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमासम्बन्धी विवादको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, मन्त्रालयका उपसचिव भिम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी तथा नापी अधिकृत ज्योति ढकाललगायतको सहभागिता रहेको थियो ।

बैठकमा बाजुरा र हुम्लाको सीमासम्बन्धी विषयमा विस्तृत छलफल गर्दै प्राविधिक अध्ययनमार्फत तथ्यगत प्रतिवेदन तयार पार्न समिति गठन गर्ने निष्कर्ष निकालिएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*