जगदम्बा मोटर्सको व्यापारमा आक्रामक उछाल, ६ महिनामै ९ अर्बको बाइक-स्कुटर बिक्री

१० जेष्ठ २०८३, आईतवार १६:५४

काठमाडौं । नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आक्रामक उपस्थिती बनाइरहेको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चालु आर्थिक वर्षको पहिलो छ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । टीभीएस ब्रान्डका मोटरसाइकल र स्कुटरप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा कम्पनीको कारोबारले तीव्र गति समातेको हो ।

चालु आवको अर्धवार्षिक अवधिसम्म कम्पनीले ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको बाइक तथा स्कुटर बिक्री गरेको विवरण सार्वजनिक भएको छ । अघिल्लो आर्थिक वर्षभर कम्पनीको कुल कारोबार १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ पुगेको थियो । त्यसअघि सन् २०२४ मा ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार भएको थियो ।

बजारमा टीभीएसका विभिन्न मोडलको माग लगातार बढिरहेकाले कम्पनीको आम्दानीमा उल्लेख्य विस्तार आएको देखिन्छ । विशेषगरी स्कुटर र कम इन्धन खपत गर्ने मोटरसाइकलप्रति उपभोक्ताको झुकाव बढेपछि कम्पनीले छोटो अवधिमै उच्च व्यापार गर्न सफल भएको हो । गत वर्ष कम्पनीको कारोबार करिब ४३ प्रतिशतले वृद्धि भएको थियो भने चालु आवको सुरुवाती छ महिनामै व्यापारले थप उकालो लागेको संकेत देखिएको छ ।

यद्यपि व्यापारको आकार विस्तार हुँदै जाँदा कम्पनीको नाफा अनुपात भने केही खुम्चिएको छ । गत आर्थिक वर्षमा ७.०९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आवको पहिलो छ महिनामा घटेर ६.१० प्रतिशतमा सीमित भएको छ । यसअघि सन् २०२३ मा कम्पनीको नाफा मार्जिन १०.०२ प्रतिशत रहेको थियो । बढ्दो प्रतिस्पर्धा, बजार विस्तारमा भएको खर्च तथा वितरण प्रणालीमा गरिएको लगानीका कारण नाफाको अनुपात क्रमशः घट्दै गएको विश्लेषण गरिएको छ ।

सन् २०१० मा एसजी ग्लोबल प्रालिका रूपमा स्थापना भएको कम्पनीले सन् २०१५ पछि ‘जगदम्बा मोटर्स’ नामबाट व्यवसाय विस्तार गरेको हो । कम्पनी हाल नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक विक्रेता हो । दुईपाङ्ग्रे सवारीसँगै कम्पनीले प्रोटोन, जेएमईभी तथा चेरी ब्रान्डका चारपाङ्ग्रे सवारीसाधनको बिक्री वितरण पनि गर्दै आएको छ ।

अटोमोबाइल क्षेत्रसँगै कम्पनीले प्रविधि बजारमा समेत उपस्थिती विस्तार गर्ने रणनीति लिएको छ । यही योजनाअन्तर्गत जगदम्बा मोटर्सले जेडटीई ब्रान्डका स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी गरेको जनाएको छ ।

साहिल अग्रवाल निर्देशक रहेको कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण व्यवस्थापनका लागि करिब ६ अर्ब रुपैयाँ बराबरको कर्जा रेटिङ पनि गराएको छ । कम्पनीले दीर्घकालीन कर्जातर्फ १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ तथा अल्पकालीन कर्जातर्फ ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको रेटिङ प्राप्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*