हेटौँडा सिमेन्ट उद्योग पुनर्जीवनको संकेत, सरकारी स्वामित्वका बन्द उद्योग सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला पुनः सञ्चालनमा आउने अवस्थाबाट गुज्रँदै आएको उक्त सरकारी उद्योगको वास्तविक अवस्था बुझ्न मन्त्री यादवले उद्योग परिसरमै पुगेर निरीक्षण गर्नुका साथै व्यवस्थापन तथा कर्मचारीहरूसँग छलफल गरेकी हुन् ।
निरीक्षणपश्चात् आयोजित छलफलमा मन्त्री यादवले सरकारी स्वामित्वको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद् भएको उल्लेख गर्दै बन्द रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको बताइन् ।
उनले हेटौँडा सिमेन्ट उद्योगलाई नियमित रूपमा सञ्चालन गर्न सकिने सम्भावनाबारे सरकार गम्भीर रूपमा अध्ययन गरिरहेको जानकारी दिँदै निजी क्षेत्रका सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा रहने तर सरकारी उद्योग बन्द हुनु अस्वीकार्य विषय भएको धारणा व्यक्त गरिन् ।
मन्त्री यादवले उद्योगको समस्या समाधान गरी छिट्टै नियमित सञ्चालनको वातावरण बनाइने प्रतिबद्धता पनि व्यक्त गरिन् । उद्योग बन्द हुँदा रोजगारी मात्र गुम्ने नभई समग्र आर्थिक प्रणालीमा समेत नकारात्मक असर पर्ने भएकाले उद्योगलाई पुनः सक्रिय बनाउन सरकार इच्छुक रहेको उनको भनाइ थियो ।
उनले सरकार एक्लैले मात्र उद्योग सञ्चालन गर्न नसक्ने भएकाले व्यवस्थापन र कर्मचारीको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षको सहकार्यबाट मात्र उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न सकिने बताइन् ।
छलफलका क्रममा हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले पुराना र जीर्ण मेसिनरीका कारण समय–समयमा उत्पादन अवरुद्ध हुने गरेको जानकारी दिए । उनले आर्थिक सङ्कटका कारण कच्चा पदार्थको आपूर्ति नियमित हुन नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताए ।
साहका अनुसार पछिल्लो समय उद्योगले सीमित मात्रामा मात्र उत्पादन गर्दै आएको थियो भने कच्चा पदार्थ आपूर्तिकर्ताको बक्यौता, विद्युत् महसुल तथा कर्मचारीहरूको तलब भत्ता जस्ता दायित्व लामो समयदेखि भुक्तानी हुन सकेको छैन । करिब ११ महिनादेखि कर्मचारीहरूले तलबभत्ता नपाएको उनले जानकारी गराए ।
उद्योगलाई तत्काल देखिएका आर्थिक समस्याबाट उकास्न सकिए पुनः नियमित सञ्चालन सम्भव हुने उनको भनाइ थियो ।












