१२ करोडभन्दा बढी हिनामिना प्रकरण : फरार ज्योति गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित भई सबुत–प्रमाणसहित प्रतिउत्तर पेश गर्न सूचना जारी गरेको छ।
सहकारीका सचिव बोधविक्रम थापाले दायर गरेको लेनदेन मुद्दामा अदालतले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र उपस्थित हुन निर्देशन दिएको हो। अदालतले म्यादभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार मुद्दाको प्रक्रिया अघि बढाइने जनाएको छ।
मितेरी सहकारीको करिब १२ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पूर्वमहाप्रबन्धक ज्योति गुरुङसहित पाँच जनाविरुद्ध उजुरी परेको थियो। सहकारीका पदाधिकारीहरूले रकम अनियमिततामा संलग्न व्यक्तिहरूले रकम फिर्ता नगरेपछि गुरुङ फरार भएको दाबी गरेका छन्।
यसअघि मितेरी सहकारीको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिससमेत जारी भइसकेको छ।












