बीमा प्राधिकरणको अध्यक्ष पदमा निर्देशक रेग्मी र उप निर्देशक भट्टले दिए उम्मेदवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तीका लागि खुल्ला गरिएको आवेदनमा नेपाल बीमा प्राधिकरणका दुई जनाले आवेदन दिएका छन् । प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र उप निर्देशक विरोध भट्टले प्राधिकरणको अध्यक्षमा आवेदन दर्ता गराएका हुन् ।
दुवै जनाले आज अर्थ मन्त्रालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बीमा प्राधिकरणको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निर्देशक रेग्मीसँग प्राधिकरणमा ११ बर्ष निर्देशक पदमा कार्यरत रहेको अनुभव छ । रेग्मी २०७२ साल असोज ६ गते खुल्ला प्रतिस्पर्धाबाट निर्देशकमा नियुक्त भएका थिए । २०६० सालदेखि २०७२ सालसम्म नेपाल टेलिभिजनमा बरिष्ठ लेखा अधिकृत पदमा काम गरेका रेग्मी २०५३ सालबाटै निजामति सेवामा प्रवेश गरेका व्यक्ति हुन् ।
रेग्मी यसअघि पनि पटक पटक मन्त्रिपरिषदमा सिफारिस भएर पनि राजनीतिक स्वार्थका कारण नियुक्ती नपाएका व्यक्ति हुन् । पछिल्लो पटक २०७८ सालमा कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्तीका लागि छनौट समितिमा परेर मन्त्रिपरिषदमा सिफारिस भएका व्यक्ति हुन् भने २०६९ सालमा खाद्य संस्थानको महाप्रबन्धकमा लोकसेवा आयोगले छनौट गरेर तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएर पनि नियुक्ती नपाएका व्यक्ति हुन् । त्यसैगरी, २०६९ सालमा बैदेशिक रोजगार विभाग बोर्डको इडीमा नियुक्तीका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा रेग्मीलाई तत्कालिन मन्त्रिपरिषदले नियुक्ती गरेका थिएन ।
यसअघि बीमा प्राधिकरणको अध्यक्षमा आवेदन दिएका रेग्मी तीन जनामा परी मन्त्रिपरिषदमा सिफारिस भएर पनि सरकारले शरद ओझालाई नियुक्त गरेको थियो । ओझाले योग्यता नै नपुग्ने अवस्थामा सेटिङमा नियुक्ती लिएकोले हाल उनको नियुक्ती खारेज भई पुनः नयाँ नियुक्तीका लागि आवेदन खुल्ला गरिएको हो । जन प्रशासनमा स्तानकोत्तर र नेपालको एक्चुरी व्यवस्थापनमा एमफिल गरिसकेका निर्देशक रेग्मी हाल पिएचडीका स्कलर समेत हुन् ।
अर्का उम्मेदवार बिरोध भट्ट बेलायतबाट बाणिज्य कानुनमा स्नातकोत्तर (एलएलएम इन्टरनेशनल ट्रेड ल) तह उत्तिर्ण गरी नेपाल फर्केर बीमा प्राधिकरणको कानुन विभागमा कार्यरत उप निर्देशक हुन् । बीमा प्राधिकरणभित्र कानुन र विधिको शासनको पक्षमा काम गरेका भट्ट नियम कानुन अनुसारको मात्रै काम गर्ने खरो कर्मचारीको परिचय बनाएका व्यक्ति हुन् ।
सुरुमा तीन बर्षमा ३ बर्ष करारमा कानुन अधिकृत बनेर तत्कालिन बीमा समितिमा प्रवेश गरेका भट्ट २०७५ साउन १ गतेदेखि उप निर्देशकमा नियुक्ती लिई विगत आठ बर्षदेखि कार्यरत रहेका छन् । त्यस बीचमा २०७४ सालमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक बर्ष कानुनी सल्लाहकारको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
भट्टले नेपालका कानुन तथा बीमाको बिषयमा विभिन्न कलेजहरुमा अध्यापन गराउँदै आएका छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठानमा बीमाको सिद्धान्त लगायतका बिषयमा रिसोर्स पर्सनको रुपमा कार्यरत रहँदै आएका छन् ।












