बीमा प्राधिकरणको अध्यक्षमा दुई दर्जनको उम्मेदवारी, भोलि अन्तिम दिन

१८ जेष्ठ २०८३, सोमबार २०:२७

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा हालसम्म करिब दुई दर्जनले आवेदन दिएका छन् । अर्थमन्त्रालय स्रोतका अनुसार आज अपरान्ह पाँच बजेसम्म दुई दर्जन हाराहारीले आवेदन दिएका हुन् ।

आवेदन अन्तिम दिन भोलि हो । भोलिसम्ममा करिब ४० भन्दा बढीको आवेदन पर्ने अनुमान गरिएको छ । बीमापोष्टको सम्पर्कमा आएका केही उम्मेदवारहरुले भोलि आवेदन दिने बताएका छन् ।

बीमा प्राधिकरणको अध्यक्षमा बीमा क्षेत्रमा कार्यरत उच्च तहका अधिकारीहरु, बीमा बिषयमा अध्यापन गराउँदै आएका विज्ञहरु, पूर्व प्रसासक, नियामक निकायका पूर्व उच्च अधिकारीहरुले आवेदन दिएका छन् । क–कसले आवेदन दिएको भनेर अर्थमन्त्रालयले आवेदन दिनेहरुको नाम सार्वजनिक गर्न बाँकी छ ।

प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिने भोलि मंगलबार अन्तिम दिन हो । भोलि अपरान्ह पाँच बजेसम्म आवेदन दर्ता गरिने छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक, अर्थ सचिव घनश्याम उपाध्याय र प्रा.डा. फत्त बहादुर केसी विज्ञ सदस्य रहेको बीमा प्राधिकरणको अध्यक्ष छनौट समिति गठन गरिएको छ । सोही समितिले प्राप्त आवेदन सर्टलिष्ट गरी पाँचसँग कार्यक्षमता परिक्षण तथा प्रस्तुती समेत लिई उत्कृष्ट तीन जनालाई नेपाल सरकार समक्ष नियुक्तीका लागि सिफरिस गरिनेछ । र, सोही तीन जना मध्येबाट एक जना नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त हुनेछन् । अब नियुक्त हुने अध्यक्षको पदावधी एकिन भइसकेको छैन । यसअघिका अध्यक्ष शरद ओझाको नियुक्ती बदर भएको ठहरिएमा अबको अध्यक्षको नियुक्ती पुरा कार्यकाल चार बर्षको हुनेछ भने अन्य आदेश भएको अवस्थामा बाँकी अवधीको लागि मात्रै हुनेछ ।

तस्विरः जेमिनी/एआई

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*