सामान्य बिरामीको आकस्मिक उपचार गर्दा निजी संस्थाले दाबी भुक्तानी नपाउने

१९ जेष्ठ २०८३, मंगलवार ०७:४७

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामान्य बिरामीको आकस्मिक सेवा अन्तर्गत उपचार गरिएमा त्यस्तोमा बीमा दाबी भुक्तानी नदिइने स्पष्ट पारेको छ। गत जेठ १२ गते बोर्डले निजी अस्पतालबाट आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो। तर दाबी भुक्तानी लिनका लागि सामान्य बिरामीले समेत आकस्मिक स्वास्थ्य सेवा लिन थालेपछि बोर्डले निजी स्वास्थ्य संस्थालाई परिपत्र गरेको हो।

आकस्मिक स्वास्थ्य समस्या भएका बिरामीलाई भने आवश्यक उपचार सेवा दिन र त्यस्ता बिरामीको उपचारमा कुनै अवरोध नगर्न र आवश्यक परे भर्ना तथा शल्यक्रिया गरी उपचार सम्पन्न गरेर डिस्चार्ज गर्न सकिने पनि उल्लेख गरेको छ। बोर्डका अनुसार कुनै बिरामीको स्वास्थ्य अवस्था तत्काल उपचार आवश्यक पर्ने प्रकृतिको भएमा त्यस्ता बिरामीलाई आकस्मिक स्वास्थ्य सेवा अन्तर्गत उपचार गर्न सकिनेछ। उपचारका क्रममा बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्ने वा शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा पनि चिकित्सकीय आवश्यकता अनुसार उपचार गर्न पाइने व्यवस्था रहेको स्पष्ट गरिएको छ।

तर सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको नाममा उपचार गरी स्वास्थ्य बीमा दाबी पेश गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नहुने बोर्डले चेतावनी दिएको छ। साथै यस्तो कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाहीसमेत हुन सक्ने जनाएको छ। बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई जारी निर्देशिकाको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै सेवाग्राहीहरूलाई पनि नियमअनुसार मात्र सेवा लिन, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन र तोकिएको प्रक्रियाअनुसार उपचार सेवा प्राप्त गर्न अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*