बिवाईडी भन्सार सेटिङ प्रकरणमा छानबिन तीव्र, सयौँ सवारीमा कागजी भन्सार पासको रहस्य खुल्दै

२२ जेष्ठ २०८३, शुक्रबार १२:४०

काठमाडौँ । बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमार्फत सयौँ सवारी साधन अनियमित रूपमा भित्र्याएको विषयमा गठित छानबिन समितिले अनुसन्धानलाई तीव्र बनाएको छ । बजेट मार्फत कर बढ्ने सूचना चुहिएपछि भन्सार नाकामा आईनपुगेका बिवाईडी ब्राण्डका सवारी साधन कागजातका आधारमा मात्र भन्सार पास गरीएको थियो ।

कोरला नाका हुँदै भित्रिएका ७७४ वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि सरकारले यस प्रकरणलाई औपचारिक रूपमा थप गहिरो अनुसन्धानमा लगेको छ । हिजो बिहीबार अर्थ मन्त्रालयका उपसचिवको संयोजकत्वमा, भन्सार विभागका उपसचिव भुपालराज शाक्यसहित, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृतहरूको सहभागितामा छानबिन समिति गठन गरिएको हो । समितिलाई सवारी साधन कानुनअनुसार भित्रिएका हुन् वा होइनन् भन्ने विषयमा स्थलगत अध्ययनसहित विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ ।

समितिले गठन भएको केहि घण्टामा नै फिल्डमा पुगेर काम सुरु गरिसकेको छ । भन्सार जाँचपास प्रक्रियामा ‘कागजी मिलेमतो’ भएको हो वा होइन भन्ने पक्षलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको छ । समितिले कागजात, जाँचपास प्रक्रिया, नाकामा भएका गतिविधि तथा सम्बन्धित निकायका निर्णय प्रक्रियालाई सूक्ष्म रूपमा अध्ययन गरिरहेको बताइएको छ ।

समितिको छानबिन तिव्र रुपमा अघि बढ्दा सेटिङमा आवद्ध केहि ब्यक्तिलाई पक्राउ गर्ने अन्तिम तयारी भइरहेको छ । सम्बन्धीत कम्पनी र भन्सारका केहि उच्च अधिकारीहरुलाई प्रमाण नष्ट हुन नदिन पक्राउ गर्ने तयारी भइरहेको छानबिन समितिका एक सदस्यले बताए ।

गत बुधबार रातिदेखि बिहीबार बिहानसम्म सशस्त्र प्रहरी बलको टोलीले मुस्ताङ, पर्वत र कास्कीका विभिन्न स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिएको थियो । कोरला नाका हुँदै भित्रिएका ती सवारी साधनहरू गन्तव्यतर्फ लैजाने क्रममा बाटोमै रोकिएका हुन् ।

साइमेक्स इंक यमुना श्रेष्ठको स्वामित्वमा रहेको कम्पनी हो । हाल छानबिन समितिले सबै कागजात र प्रक्रिया परीक्षण गर्दै प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ ।

सम्बन्धीत समाचार

भन्सारसँगको सेटिङ बिवाईडीले रातारात भित्रायो सयौं गाडी, छानविन गर्दै सशस्त्र

चुहियो कर बढ्ने सूचना, अर्थमन्त्रीमाथि छानविनको माग, राजिनामा कहिले ?

बिवाईडीले गरेको भन्सार छली छानविन गर्न अर्थमन्त्रीले बनाए समिति

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*