दुई तिहाई सरकारसँग त्रसित शेयर लगानीकर्ताः निरन्तर गुम्दै लगानी, किन छ राताम्य यात्रा ?

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेटपछि शेयर बजारमा उत्साह देखिने अपेक्षा गरिए पनि हालको अवस्था भने उल्टो देखिएको छ । बजेट प्रस्तुत भएयता बजार निरन्तर दबाबमा रहँदै आएको छ र सूचकांकमा देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ । बजार सुधारको आशा गरेका लगानीकर्ता अहिले निराश बनेका छन् भने कारोबार पनि अपेक्षाकृत सुस्त देखिन थालेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेट र त्यसपछिका नीतिगत संकेतहरूले पनि बजारमा स्थायित्व दिन नसकेको लगानीकर्ताको बुझाइ छ । विशेषगरी सूचीकृत कम्पनीको सेयर बिक्रीमा लाग्ने पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तनले सुरुमा केही सकारात्मक संकेत दिएको भए पनि पछि करको सीमा र कार्यान्वयनबारे देखिएको अस्पष्टताले पुनः अनिश्चितता बढाएको छ । यही कारण बजारमा विश्वासको वातावरण कमजोर बन्दै गएको देखिन्छ ।
साउनदेखि नयाँ कर नीति पूर्ण रूपमा कार्यान्वयन हुने आशंकाले धेरै लगानीकर्ता सुरक्षित रणनीतिमा सरेका छन् । सम्भावित कर भार र नीतिगत जोखिमलाई ध्यानमा राख्दै धेरैले बिक्री पक्षलाई प्राथमिकता दिँदा बजारमा आपूर्ति बढेको छ । आपूर्तिको चाप बढेसँगै मूल्यमा दबाब देखिएको छ र यसले समग्र बजारलाई थप कमजोर बनाएको विश्लेषण गरिएको छ ।
यद्यपि बजेटले दीर्घकालीन रूपमा पूँजी बजार सुधार गर्ने उद्देश्य पनि राखेको छ । नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली विकास र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । यी सुधारहरूले बजारलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउने अपेक्षा सरकारको रहेको छ, तर तत्काल प्रभाव भने न्यून देखिएको छ ।
त्यसैगरी नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना, इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभजस्ता नयाँ वित्तीय उपकरणको सम्भावित प्रयोगले बजारलाई आधुनिक बनाउने योजना बजेटमा समेटिएको छ । साथै इन्साइडर ट्रेडिङ र बजार कर्नरिङजस्ता अवाञ्छित गतिविधिविरुद्ध कडाइ गर्ने नीति पनि उल्लेख गरिएको छ । तर यी योजनाहरू कार्यान्वयन चरणमा प्रवेश नगर्दासम्म लगानीकर्ताको विश्वास पुनः फर्किन नसकेको अवस्था देखिन्छ ।
अहिले बजारमा सबैभन्दा ठूलो चुनौती नीतिगत स्पष्टता र विश्वासको अभाव हो । ठूला लगानीकर्तादेखि साना लगानीकर्तासम्म सबैले बजारको दिशाबारे अनिश्चितता महसुस गरिरहेका छन् । त्यसैगरी केही लगानीकर्तामाथि भइरहेको धरपकड र नियामक कडाइले पनि मनोवैज्ञानिक दबाब बढाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३७ अकंले घटेर २७५५.४१ बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको १ करोड २७ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ५२ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको २.७७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.२७ प्रतिशत र निर्जीवन बीमा समूहको ०.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

शुक्रबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको घटेको छ ।












