बजेट अवधीमा लक्ष्मी ग्रुपका निराकार श्रेष्ठ पटक पटक अर्थमन्त्रालयमा, गतिविधि शंकास्पद

काठमाडौं । बजेट निर्माणकै क्रममा भन्सार दर परिवर्तनको सूचना चुहिएसँगै कसले उक्त सूचना चुहायो भनेर अहिले व्यापक खोजी भइरहेको छ । भन्सार कार्यालयका प्रमुखदेखि अनेकन पदमा कार्यरत व्यक्तिहरुलाई शंकाको राडारमा राखेर अहिले सुक्ष्म निगरानी भइरहेको छ ।
बीमापोष्टले नयाँ तथ्य फेला पारेको छ । बजेट निर्माण भइरहेका बेला नेपाल उद्योग बाणिज्य महासंघका अधयक्ष अञ्जन श्रेष्ठका भाइ अर्थात लक्ष्मी गु्रुपका डाइरेक्टर निराकार श्रेष्ठ शंकास्पद रुपमा अर्थमन्त्रालयभित्र पुगेर भेटघाट गर्ने गरेको तथ्य खुलेको छ । समाचार स्रोतका अनुसार श्रेष्ठ बजेट निर्माण भइरहेका बेला धेरै पटक अर्थमन्त्रालयमा पुगेका थिए । उनले भन्सार दर परिवर्तनको सूचना लगे वा लगेनन् भन्ने खुलिसकेको छैन । यद्यपि उनले काइयी ब्राण्डका केही थान सवारी साधन भने बजेट अघि नै भित्राउन सफल भएका छन् ।
समाचार स्रोतले भन्यो, ‘धेरै पटक उहाँ अर्थमन्त्रालयमा धाउनु भएको हो ।’ बजेट निर्माण अघि जेठको पहिलो साता अर्थमन्त्रालय पुगेका एक पत्रकारले आफूले निराकार श्रेष्ठलाई मन्त्रालयभित्रै कालो गाडीमा देखेको बताएका छन् । पत्रकारले देखेपछि श्रेष्ठ केहीबेर गाडीभित्र लुकेर पछि अर्थमन्त्रालयमा छिरेर केही समय बिताएर फर्केका थिए । सो कुरा अर्थमन्त्रालयकै सिसी क्यामेरामा हेर्दा पनि पुष्टी हुने दावी समाचार स्रोतको छ ।
निराकार श्रेष्ठको हुण्डाई ग्रुपले ६० वटा काईयी ब्राण्डका गाडीहरु जेठ १३ र १४ गते तातोपानी र रसुवा नाकाबाट भन्सार पास भएको तथ्य भेटिएको छ । उनका सबै गाडीहरुमा भन्सार महसुल बृद्धि भएको देखिएको छ । सो सम्बन्धमा जिज्ञाशा राख्दा श्रेष्ठले केही बताउन चाहेनन् ।











