समस्याग्रस्त बैंकबाट पुनरुत्थानको यात्रामा कर्णाली, झण्डै ४८ करोड निक्षेपकर्तालाई फिर्ता

२४ जेष्ठ २०८३, आईतवार ११:२७

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सुधार तथा सुदृढीकरण प्रक्रिया निरन्तर अघि बढिरहेको जनाएको छ। समूहले बैंक र व्यवस्थापनलाई लक्षित गरी पछिल्ला दिनमा भइरहेका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै समस्या समाधानमा सबै सरोकारवालाको सकारात्मक सहयोग आवश्यक रहेको बताएको हो ।

व्यवस्थापन समूहद्वारा जारी विज्ञप्तिअनुसार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको २०८१ पुस १० गतेको निर्णयबाट कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिइएको थियो। त्यसयता व्यवस्थापन समूहले बैंकको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सम्हाल्दै आएको छ।

समूहले व्यवस्थापन सम्हालेपछि निक्षेप अपचलनमा संलग्न व्यक्तिहरुविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै बैंकबाट प्रवाहित कर्जाको असुलीबाट प्राप्त रकमका आधारमा हालसम्म ४७ करोड ९४ लाख रुपैयाँ बराबरको निक्षेप फिर्ता भुक्तानी गरिसकिएको जानकारी दिएको छ।

विज्ञप्तिमा कर्जा असुलीको कार्य निरन्तर जारी रहेको र सोही आधारमा निक्षेपकर्तालाई रकम फिर्ता गर्ने तथा संस्थाको सुदृढीकरण गर्ने प्रक्रिया क्रमशः अगाडि बढिरहेको उल्लेख गरिएको छ। तर, पछिल्ला केही दिनयता बैंक र व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका अवाञ्छित गतिविधिहरूले सुधार प्रक्रियामा थप अवरोध सिर्जना गर्न सक्ने व्यवस्थापन समूहको भनाइ छ।

सम्पूर्ण निक्षेपकर्ताको हकहित संरक्षण तथा निक्षेप सुरक्षाका लागि आफूहरू प्रतिबद्ध भएर कार्यसम्पादन गरिरहेको जनाउँदै व्यवस्थापन समूहले यस्ता गतिविधि नगर्न र नगराउन सबैलाई आग्रह गरेको छ। साथै बैंकको समस्या समाधान तथा सुधार अभियानलाई सफल बनाउन निक्षेपकर्ता, शेयरधनी तथा अन्य सम्पूर्ण सरोकारवालाले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*