सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने, साउनदेखि नयाँ व्यवस्था लागू हुने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य रूपमा आवद्ध गराउने भएको छ । आगामी साउन महिनादेखि राष्ट्रसेवक कर्मचारीलाई यो कार्यक्रममा समेटिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले आगामी साउनदेखि सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आवद्ध गराउने विषयमा आवश्यक कार्यविधि तयार गर्ने काम भइरहेको जानकारी दिए । उनले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले बाध्यकारी व्यवस्था लागू गर्ने तयारी गरिरहेको बताए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने उद्देश्यले सरकारले यो निर्णय गरेको उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट दोब्बर गरिएको छ । यसअघि सात अर्ब रुपैयाँ विनियोजन हुँदै आएकोमा आगामी वर्षका लागि पन्ध्र अर्ब रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।
सरकारले गरिब तथा विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल चुनौतीपूर्ण अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई अठार अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । भुक्तानी नहुँदा निजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक सेवाबाहेक अन्य सेवा प्रभावित भएका छन् ।












