संसदमा उठ्यो बजेट चुहाएर करछली गरेको काण्ड

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट चुहाएर करछली गरेको विषयमा प्रश्न उठेको छ।
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले आर्थिक विधेयक संसदको सम्पत्ति भएको बताउँदै त्यो विधेयक संसदमै पेश नगरी भकाभक परिवर्तन गरिएको बताए। देशलाई कमजोर बनाउने काम सत्ता र सरकारमा पुगेका तर इमान्दार नभएकाले बिगारेको बताए।
‘करका दर अर्थमन्त्री बाहेक अरु कसलाई थाहा हुन्छ? नेपाल सरकारको सचिवलाई पनि थाहा हुँदैन त्यो कुरा। त्यो सिमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन।’ उनले भने।
सूचना चुहिएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रिएको र १४ गते भन्सार पास भई २० गते गाडी आउनु स्वार्थको द्वन्द्व भएको बताए। ‘देशको अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति चाहिन्छ। त्यसबाट छानबिन गर्नुहोस्। करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो? यो सामान्य कुरा हो? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो?’ उनले भने।
अर्थमन्त्री, अर्थमन्त्रीले चाहेको खण्डमा अर्थ सचिव र राजश्व सचिवलाई मात्र थाहा हुने करको विषय अरुलाई थाहा हुनै नसक्ने उनले बताए। अर्थमन्त्रीले गल्ति गरेको बताउँदै कर्मचारीलाई मात्र डाम्न बनाइएको छानबिन समितिको सट्टा संसदीय छानबिन समिति बनाउन पनि उनले माग गरे।
त्यसैगरी नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि यस विषयमा प्रश्न उठाएकी छन्। आर्थिक विधेयकको १६ पृष्ठ गायब भएको र करका दर हेरफेर भएको समेत प्रश्न गरेकी छन्। भन्सारमा कागज र सेटिङ मिलाएर घोटालाको खेल भएको आरोप लगाइन्।












