१० जना सचिवको एकैसाथ सरुवा, को कहाँ पुगे?

२५ जेष्ठ २०८३, सोमबार १७:१६

काठमाडौं । सरकारले संघीय प्रशासनको नयाँ संरचनाअनुसार प्रशासनिक तहमा फेरबदल गर्दै १० सचिवको जिम्मेवारी परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को हालैको निर्णय कार्यान्वयन गर्दै विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा सरकारी कार्यालयमा सचिवहरूको सरुवा गरिएको हो।

सरकारले मन्त्रालयहरूको संख्या घटाएर २२ बाट १८ मा सीमित गरेसँगै सचिवहरूको जिम्मेवारी पुनः व्यवस्थापन गरिएको छ। यसक्रममा केही सचिवलाई नयाँ कार्यालयमा खटाइएको छ भने केहीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत अतिरिक्त समूहमा राखिएको छ।

वन तथा वातावरण मन्त्रालयको नेतृत्व सम्हालिरहेका गोविन्द शर्मा अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेछन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित समन्वयको जिम्मेवारी दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी अतिरिक्त समूहमा राखिएको छ। यस्तै नेपाल ट्रस्टको कार्यालयमा कार्यरत प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेपाल ट्रस्टमा सरुवा भएका छन्।

जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे हाल निलम्बनमा रहेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत अतिरिक्त समूहमा राखिएको छ।

अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्य र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्।

सरकारले मन्त्रालय पुनर्संरचनापछि आवश्यक प्रशासनिक समायोजनका लागि यो निर्णय गरिएको जनाएको छ। मन्त्रालय गाभिएपछि प्रभावित भएका सचिवहरूको जिम्मेवारी पुनः निर्धारण गरिएको हो। नाम तथा संरचनामा परिवर्तन नभएका मन्त्रालयका सचिवहरूलाई यथावत् जिम्मेवारीमा निरन्तरता दिइएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*