नयाँ सरकाप्रति छैन शेयर बजारको विश्वासः राताम्यले छटपटीमा लगानीकर्ता, त्रसित छन् ब्यवसायी!

काठमाडौँ । शेयर बजार आज पनि लगातार चौथो दिन ओरालो लागेको छ । बजारमा देखिएको यो निरन्तर गिरावटले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ । उतारचढावबीच स्थायित्व खोजिरहेका लगानीकर्ता अहिले गहिरो त्रास र अनिश्चिततामा छन् । बजार सुस्तिँदै जाँदा कारोबार पनि अपेक्षाभन्दा निकै कम देखिएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटपछि बजारमा केही उत्साह आउने अपेक्षा गरिएको थियो । तर व्यवहारमा भने त्यसको ठीक उल्टो अवस्था देखिएको छ । बजेट प्रस्तुत भएयता सेयर बजार निरन्तर दबाबमा रहँदै आएको छ भने सूचकांकमा देखिएको गिरावटले लगानीकर्ताको आशा कमजोर बनाएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेट र त्यसपछिका नीतिगत संकेतहरूले पनि बजारमा अपेक्षित स्थिरता दिन नसकेको लगानीकर्ताको बुझाइ छ । विशेषगरी पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तनले प्रारम्भमा सकारात्मक संकेत दिए पनि करको सीमा र कार्यान्वयनबारे स्पष्टता नहुँदा पुनः अनिश्चितता बढेको देखिन्छ । नयाँ कर नीतिले धेरै लगानीकर्ता सुरक्षित रणनीतितर्फ मोडिएका छन् । कर भार र नीतिगत जोखिमलाई ध्यानमा राख्दै बिक्री चाप बढ्दा बजारमा सेयर आपूर्ति उच्च बनेको छ । आपूर्तिको दबाबसँगै मूल्यमा निरन्तर गिरावट देखिन थालेको छ ।
अहिले बजारको मुख्य चुनौती नै नीतिगत अस्पष्टता र विश्वासको अभाव बनेको छ । ठूला र साना सबै लगानीकर्तामा समान रूपमा अनिश्चितताको भावना फैलिएको छ । यसले बजारको दिशाबारे द्विविधा सिर्जना गरेको छ । त्यसैगरी केही लगानीकर्तामाथि देखिएको नियामक कडाइ र सम्भावित धरपकडको हल्लाले पनि मनोवैज्ञानिक दबाब थपेको छ । सरकारप्रति विश्वास कमजोर हुँदै जाँदा सेयर बजारमा निराशा गहिरिँदै गएको विश्लेषण गरिएको छ, जसले समग्र बजारलाई थप दबाबतर्फ धकेलेको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले घटेर २७३३.५९ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएको छ भने ४ उपसूचकमा सामान्य सुधार देखिएको हो । फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक १.०१ प्रतिशतले घटेको हो ।
मंगलबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













