महँगी २.२७ प्रतिशतले बढ्यो, फलफूल र यातायात क्षेत्रमा उच्च मूल्यवृद्धि

२६ जेष्ठ २०८३, मंगलवार १७:३४

काठमाडौं । वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ५.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको वैशाख महिनामा यस्तो महँगी २.७७ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.६३ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको महँगी ५.२६ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्य १८.६० प्रतिशत, घिउ तथा तेल १३.९९ प्रतिशत, तरकारी ५.४० प्रतिशत तथा माछा तथा मासु ४.१६ प्रतिशतले बढेको छ। यद्यपि दाल तथा गेडागुडी र मरमसलाको मूल्यमा भने केही कमी आएको छ।

गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १९.९० प्रतिशत तथा यातायात क्षेत्रको मूल्य १५.३० प्रतिशतले वृद्धि भएको छ। शिक्षा क्षेत्रमा ५.५४ प्रतिशत तथा लुगाकपडा र जुत्ता–चप्पलमा ४.४३ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा ४.३५ प्रतिशत र सहरी क्षेत्रमा ५.२९ प्रतिशत महँगी रहेको छ। काठमाडौं उपत्यकामा ४.९० प्रतिशत तथा तराई क्षेत्रमा ५.५९ प्रतिशत महँगी मापन गरिएको छ।

प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.६४ प्रतिशत महँगी रहेको छ। मधेश प्रदेशमा ५.४७ प्रतिशत र लुम्बिनी प्रदेशमा ५.३१ प्रतिशत महँगी रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनाको औसत महँगी २.६६ प्रतिशत रहेको छ। अन्तर्राष्ट्रिय तुलना गर्दा नेपालको वार्षिक महँगी ५.०४ प्रतिशत रहँदा भारतमा सन् २०२६ अप्रिल महिनाको मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*